सूचनाको शक्ति - The Power Of Information

        

एचआइभी सङ्क्रमितले जन्माए स्वस्थ बच्चा

बाँके । बाँकेका एचआइभी सङ्क्रमित गर्भवती महिलाले समयमै उपचार सेवा सुरु गरेर स्वस्थ बच्चा जन्माएका छन् । समयमै उपचार सुरु गरेर पछिल्ला वर्षहरूमा एचआइभी सङ्क्रमित गर्भवती महिलाले स्वस्थ बच्चा जन्माउन थालेको भेरी अस्पतालले जनाएको छ । सो अस्पतालका अनुसार बाँकेमा १० जना सङ्क्रमित महिलामध्ये छजनाले स्वस्त बच्चा जन्माएका छन् ।

भेरी अस्पताल नेपालगन्जका एचटीसी काउन्सिलर होमनाथ सुवेदीले सङ्क्रमित १० महिलामध्ये एकको बच्चा खेर गएको, ६ जनाले स्वस्थ बच्चा जन्माएको र तीनजनाको रिपोर्ट आउन बाँकी रहेको बताए । उनका अनुसार भेरी अस्पताल नेपालगन्जमा गत आर्थिक वर्षमा १० जना एचआइभी सङ्क्रमित गर्भवती सम्पर्कमा आएका थिए । उनीहरूका लागि तत्कालै आवश्यक औषधि सुरु गरेर चिकित्सकको निगरानीमा राखिएको थियो ।

उनीहरूमध्ये छ जना बच्चामा एचआइभी नभएको पुष्टि भएको थियो । काउन्सिलर सुवेदीले समयमै गर्भवती महिलामा एचआइभी रहेको थाहा हुने हो भने स्वस्थ बच्चा जन्मिने सम्भावना भएको बताए । यसैबीच, भेरी अस्पताल नेपालगन्जमा अहिले ५२६ जना एचआइभी सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेको अस्पतालले जनाएको छ । औषधि सेवन गर्नेमध्येका २७ जना १५ वर्षमुनिका बालबालिका रहेको पनि बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार १३:१२