धनगढी । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको प्रसिद्ध घोडाघोडी तालको साख गुम्ने खतरा बढेको छ । ताल क्षेत्रमा बढ्दै गएको प्रदूषणका कारण जैविक विविधताको दृष्टिले अति महत्वपूर्ण यो तालले अस्तित्व गुमाउने खतरा बढेको हो ।
तोकिएको निश्चित मापदण्ड पूरा गरेको आधारमा सन् २००३ मा घोडाघोडी तालसहित घोडाघोडी ताल क्षेत्रलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो । हालका दिनमा भने यो ताल फोहोर र प्रदूषित हुँदै गएको छ । तालको पानीसहित किनारमा यत्रतत्र प्लास्टिक र सिसाका बोतल जथाभावी फालिएका छन् ।
सुन्दर घोडाघोडी ताल क्षेत्र फोहोरमैलाका कारण कुरूप बन्न थालेको छ । घोडाघोडी तालमा दिनहुँ घुम्न आउने पर्यटकले जथाभावी प्लास्टिकजन्य वस्तु फाल्ने, फोहोर गर्नेजस्ता कारणले घोडाघोडी ताल कुरूप बन्न लागेको हो। नेपालका लागि अत्यन्त महत्वपूर्ण र सुन्दर यो ताल प्रदूषित हुँदै जानु ठूलो चिन्ताको विषय रहेको प्रकृति संरक्षण क्लब बर्दियाका सचिव एवं द डेन एडभेन्चर्सका प्रबन्ध निर्देशक राजन चौधरीले बताए ।
‘घोडाघोडी अति महत्वपूर्ण सुन्दर क्षेत्र हो । यस्तो महत्वपूर्ण क्षेत्र हाम्रो मुलुकमा अन्यत्र कहीँ पनि छैन,’ घोडाघोडी ताल क्षेत्रमा चरा अवलोकनका लागि आएका प्रबन्ध निर्देशक चौधरीले भने, ‘तर यसरी प्लास्टिक र सिसाजन्य फोहोरमैला जथाभावी फालिनु कदापि राम्रो होइन । यस्तो कार्य तुरुन्त रोकिनुपर्छ ।’
सन् १९९७ देखि घोडाघोडी ताल क्षेत्र अवलोकन गर्दै आएको अनुभव सुनाउँदै चौधरीले भने, ‘विगतमा मनोरम र सुन्दर घोडाघोडी ताल क्षेत्रमा हाल फोहोर बढ्दै गएको र तालमा पानी पनि कम हुँदै गएको छ ।’ मन्दिर आसपासको घोडाघोडी ताल क्षेत्रमा पूजा गर्ने, पिकनिक खाने व्यक्तिले जथाभावी फोहोर गर्ने गरेका छन् ।
यसैगरी घुमफिर गर्ने व्यक्तिले पनि जथाभावी फोहोर गर्ने गरेको जनाइएको छ । मन्दिरभन्दा अलि पर जङ्गल क्षेत्रमा भने सिसाका बोतल जथाभावी फालिएका छन् । ताल क्षेत्रको वनमा गएर मदिरा सेवन गर्ने र जता पायो उतै बोतल फाल्ने कार्य हुँदै आएको छ । घोडाघोडी ताल क्षेत्रमा यसरी भइरहेको ठोस फोहोरमैलाले प्रदूषण बढाउने र जैविक विविधतामा असर पुर्याउने संरक्षणमा लागेकाहरूको बुझाइ छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा नेचर गाइडका रूपमा काम गर्दै आएका आनुराम चौधरीले घोडाघोडी ताल क्षेत्रमा पर्यटक कम आउनुको एउटा कारण प्रदूषण पनि रहेको बताए । ‘हामीले पनि धेरै सोचविचार गरेर मात्रै यहाँ पर्यटक ल्याउनुपर्छ,’ उनले भने, ‘किनभने पर्यटक स्वच्छ, सुन्दर, प्राकृतिक मनोरम दृश्य हेर्न मन पराउँछन्; जसलाई फोहोरमैलाले असर पुर्याएको छ ।’ घोडाघोडी ताल थारू समुदायको आस्थाको केन्द्र पनि हो ।
सो समुदायका मान्छेले घोडाघोडीलाई पवित्र मान्दै त्यहाँ हरेक वर्ष ‘लवाङ् गी पूजा’ पनि गर्दै आएका छन् । आफूहरूको आस्थाको केन्द्रका रूपमा रहेको घोडाघोडी ताल प्रदूषित हुँदै गएकोमा पुजारी अक्षारुदास चौधरीको पनि चित्त दुखेको छ । ८ वर्षदेखि घोडाघोडी ताललाई नियाल्दै आएका उनले घोडाघोडीमा फोहोर गर्नुहुन्न भन्ने सोचका साथ कमै मान्छे आउने गरेको बताए । घोडाघोडी ताल क्षेत्रमा बढ्दै गएको प्रदूषणले ताल क्षेत्रलाई कुरूप मात्रै बनाएको छैन, त्यहाँको जलीय र स्थलीय जीवनमा पनि असर पारिरहेको छ ।
प्लास्टिकजन्य फोहोरका कारण चराहरूमा असर पर्न थालेको छ । यसैगरी जङ्गलमा मान्छेले फालेका खानेकुरा खान बाँदर पल्किएका छन् । घोडाघोडी ताल क्षेत्रलाई थप प्रदूषित र बदनाम हुनबाट जोगाउन तत्काललाई संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने संरक्षणकर्मीको भनाइ छ । बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका उपाध्यक्ष दयाराम चौधरीले घोडाघोडी ताल क्षेत्रलाई एक महिनाभित्रै ‘बर्ड सेन्चुरी’ घोषणा गरिने बताए ।
।