बाजुरा । २०७६ पुस २४ गते बाजुराको बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनको अगाउँपानीस्थित छाउगोठमा आगलागी हुँदा आमा र दुई छोरासहित तीन जनाको ज्यान गयो ।
महिनावारी भएको बेला छाउगोठमा बालेको आगोले सुतिरहेको बेलामा आगलागी हुँदा ३५ वर्षीया आमा अम्बा बोहोरा, उनका दुई छोरा १२ वर्षीय सुरेश र ९ वर्षीय रमित बोहोराको छाउगोठमै ज्यान गएको थियो ।
घटनापछि छाउगोठ भत्काउन गृह मन्त्रालयले बाजुराका प्रमुख जिल्ला अधिकारीलाई समेत छाउप्रथा अन्त्य गर्न निर्देशन दियो । गृहको निर्देशनमा जिल्ला प्रशासन कार्यालय बाजुराले नौवटै स्थानीय तहमा छाउगोठ भत्काउने उद्देश्य लिएर जिल्लाभरका गोठको तथ्याङ्क सङ्कलन कार्य सुरु गर्यो ।
यसक्रममा २०७५/०७६ सालमा १६८ र २०७६/०७७ सालमा ३४३ गरेर जम्मा ५११ वटा छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । महिलाले महिनावारी भएका समयमा बस्ने ५११ गोठ सबै भत्काउने निर्णय भएपछि जिल्ला प्रहरी र स्थानीयको सहकार्यमा ती सबै गोठ भत्काइएका थिए ।
गोठ त भत्किइए तर धामीझाँक्रीका डरले महिनावारी भएका बेला महिलाले घरमा बस्न नमानेपछि छाउप्रथा भने कायम रह्यो । महिनावारी भएका बेलामा छाउगोठमा सुत्नुहुन्न भनेर उनीहरू बस्ने छाउगोठसमेत भत्काइए तर देउता रिसाउने हुन् कि भन्ने मनको डरका कारण घरमा बस्न महिलाले नै मान्दैनन् ।
महिलाले नमानेपछि अहिले बाजुराका अधिकांश महिला पाँच दिनसम्म फेरि बाहिर त्रिपालमा बास बस्न बाध्य भएका छन् । अभियान सुरु गरेको केही दिन प्रशासनको निगरानीमा भएका गोठ त भत्किए तर बुझेर पनि बुझ पचाउँदै आएकाहरूको सोच नबदलिएपछि अहिलेसम्म गाउँमा यो प्रथा कायमै रहेको हो ।
महिनावारी भएको समयमा महिलाले बस्ने छाउगोठ सबैभन्दा पहिला भत्काउनुपर्छ भन्दै जिल्ला प्रशासन कार्यालय बाजुराको संयोजकत्वमा प्रहरी, राजनीतिक दल, सरोकारवाला निकायको सक्रियतामा भत्काइएको थियो । अहिले बाजुराको बूढीगङ्गा, त्रिवेणी, छेडेदह गाउँपालिकाको काँडा जयवागेश्वरी लगायतका ठाउँमा धमाधम छाउगोठ पुनर्निर्माण कार्य सुरु भएका छन् ।
छाउपडी घरमा राख्दा गाईभैँसी नब्याउने र बिरामी हुने गरेको भन्दै फेरि धामीझाँक्रीबाट यो प्रथा कायम हुँदै आएको छ । ‘जब अभियान चलेको थियो, त्यो डरले आफूलाई घरमा बसाल्ने गर्यो, अभियान सुस्त भयो अनि फेरि छाउगोठमै सुत भन्यो,’ बूढीगङ्गा नगरपालिका‐१ कुँडीका रमिता परीले भनिन्, ‘आफूले महिनावारी भएको बेला घरमा सुतेपछि गाई बिरामी भयो भनेर दिनानुदिन रिसाउन थालेपछि आफू डरले फेरि छाउगोठमा सुत्न थालेको हो ।’
अभियानले सुस्त गति लिँदा धामीझाँक्रीले घरमा अनिष्ट भएको भन्दै रिसाउन थालेपछि अहिले अधिकांश महिला घरभन्दा बाहिर त्रिपाल हालेर सुत्न थालेको बूढीगङ्गा नगरपालिका–८ का स्थानीय मीना बुढाले बताइन् । अहिले अधिकांश जनप्रतिनिधिलेसमेत आ–आफ्नो स्थानीय तहका महिलालाई महिनावारी भएको समयमा घरमै सुताउने अभियानमा भए पनि पछिल्लो समयमा उनीहरू नै यो प्रथा कायम गर्न लागि परेको स्थानीयको बुझाइ छ ।
धामीझाँक्री र पुजारीका घरमा महिनावारी भएका महिलालाई घर नजिक आउनसमेत दिएका छैनन् । महिनावारी भएका बेला घरमा सुतेपछि देवता रिसाउँछ भन्दै धामीझाँक्रीले डर देखाउन थालेपछि त्रिपाल हालेर आफू बाहिर सुत्न थालेको बूढीगङ्गा नगरपालिका–८ की पार्वती नेपालीले बताइन् । महिनावारीका बेला घरमा गाईभैँसी बिरामी भए भन्दै रिसाउन थालेपछि आफू छाउगोठमै सुत्न बाध्य भएको खप्तड छेडेदह गाउँपालिका‐१ काँडाकी पर्मिता रोकायाले बताइन् ।
बाजुराको बूढीगङ्गा नगरपालिकाका तिमाडा, जुवापानी, सेलापाखा, पाल्वाडा, बदेडा, भण्डारगाउँ, सिगाडा, नुवाकोट र झाली लगायतका ठाउँका महिलाले महिनावारी भएका बेला दही मही खान अझै पाएका छैनन् । बूढीगङ्गा नगरपालिकाका अधिकांश वडामा प्रहरी, स्थानीय र जनप्रतिनिधिको रोहवरमा झन्डै ५७ वटा छाउगोठ भत्काए पनि फेरि सबै गोठ पुनर्निर्माण गरिँदै आएका छन् ।
स्थानीय सरकारले त्यहाँका स्थानीयलाई छाउगोठ नभत्काए महिनावारी भएका बेला छाउगोठमै सुत्ने गरेको पाइएमा सरकारी सेवासुविधा रोक्का गर्ने भनिएको भए पनि अहिलेसम्म त्यो नियम कुनै ठाउँमा लागू छैन । जिल्लाका अन्य स्थानीय तहका महिलाले सरकारको नीति नियम पालना गर्दै आएको भए पनि धामीझाँक्रीको पकेट क्षेत्रका महिला भने अझै छाउगोठमा सुत्न बाध्य छन् ।
उसो त जिल्लामा महिनावारीका क्षेत्रमा काम गर्दै आएका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले पनि धामीझाँक्रीलाई महिनावारी कुप्रथा हो, यसलाई अन्त्य गर्नुपर्छ भन्ने कुरामा तालिम दिँदै आएका थिए । धामीझाँक्रीले सो तालिममा सहभागी भएर भत्ता पचाउने र फेरि घरमा गएर पहिल्यैकै कुसंस्कारको प्रचार गर्दै आएको पीसविन बाजुराका सहजकर्ता गोमती कटुवालले बताए ।
।