सूचनाको शक्ति - The Power Of Information

        

अपराध

भूपेन्द्र हत्या प्रकरणका नौ जना प्रतिवादी अझै फरार

हत्या गरिएका युवक (बीचमा), हत्या आरोपमा पक्राउ परेका युवकहरु (दायाँ बायाँ)

धनगढी । एक महिनाअघि फिल्मी शैलीमा हत्या गरिएका कैलालीका भूपेन्द्र बडुवालको हत्या घटनाका नौ जना प्रतिवादी अझै फरार छन् । उनीहरू धनगढी उपमहानगरपालिकाको जुगेडा हुँदै भारततर्फ गएको जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

कार्यालयका अनुसार फरार हुनेमा लम्कीचुहा नगरपालिका–३, चिसापानीका २७ वर्षीय नवीन रावल, २६ वर्षीय चिरञ्जीवीजङ्ग शाही, हिमाल शाही, जानकी गाउँपालिका–६ जगतपुरका २८ वर्षीय जयन्द्र शाह, टीकापुर नगरपालिका–१ का २७ वर्षीय विकास शेरचन र लम्कीचुहा नगरपालिका–४ का २४ वर्षीय रोशनबहादुर शाही रहेका छन् ।

यसैगरी टीकापुर नगरपालिका–६ का ३५ वर्षीय अशोक रावल, लम्कीचुहा नगरपालिका–३ का ३२ वर्षीय अशोकजङ्ग शाह र बर्दियाको गेरुवा गाउँपालिका–५ का २२ वर्षीय हेमन्त शाही फरार छन् । गत कात्तिक २३ गते टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक खुकुरी प्रहार गरेर २३ वर्षीय बडुवालको हत्या भएको थियो ।

हत्यामा संलग्न रहेको आरोपमा २१ जनाविरुद्ध जाहेरी परेकोमा हत्या घटनाका आरोपी र आपराधिक समूहमा लागेका १२ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय दीपेन्द्र शाही, आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहान नगरपालिका–१ का २२ वर्षीय कपिल श्रेष्ठ रहेका छन् ।

यस्तै बर्दियाको राजापुर नगरपालिका–७ का २१ वर्षीय रोहित आले, टीकापुर नगरपालिका–१ का २५ वर्षीय सोहन शाह पक्राउ परेका छन् । यसैगरी बर्दयोरिया गाउँपालिका–२, झगढपुरका २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का २६ वर्षीय सविनजङ्ग शाही रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

लम्की, टीकापुर, चिसापानी क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेक्कापट्टामा आफ्नो वर्चस्व कायम गर्नका लागि लोकजङ्ग शाहीले युवाको समूह बनाई आपराधिक क्रियाकलापमा परिचालन गर्ने गरेको प्रहरीले जनाएको छ । सो समूहलाई अशोक रावलले संरक्षण गर्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

पछि सोही समूहका जयन्द्र शाह र नवीन रावलबीच मनमुटाव बढेर युवाहरू दुई समूहमा विभाजन भएका र उनीहरूबीच पटक पटक झगडा हुने गरेको उनले बताए । जयन्द्र समूहको कपिल श्रेष्ठले नवीन रावलको समूहमाथि लम्कीको फुटबल मैदानमा आक्रमण गर्ने योजना विफल भएपछि टीकापुरमा बडुवाल हत्या घटना घटेको प्रहरीले जनाएको छ ।

आफ्नो समूहमाथि आक्रमण हुने खबर पाइसकेपछि नवीन समूहले जयन्द्रको समूहका कपिल श्रेष्ठ लगायतलाई लखटेको र सोहीक्रममा भाग्दाभाग्दै कपिल श्रेष्ठ एक्लै भएको र टीकापुर गएर लुकेको प्रहरीले जनाएको छ । उनै कपिलले आफूले चिनेका भूपेन्द्र बडुवाललाई टीकापुरमा आफूलाई लिन बोलाएपछि घटना घटेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

‘नवीन समूहले जयन्द्र समूहको जोकोहीलाई पनि आक्रमण गर्ने योजनाअनुसार खोजी सुरु गरे । त्यहीक्रममा उनीहरूले बडुवाललाई टीकापुरमा भेट्टाए,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘उनीहरूले पछाडिबाट लखेट्न थालेपछि मोटरसाइकल छोडेर भूपेन्द्र आफन्तको घरतिर भागेको देखिन्छ ।’

रावलको समूहले उनलाई आफन्तका घरको पेटीमै नियन्त्रणमा लिएर खुकुरी प्रहार गरेको अनुसन्धानबाट खुल्न आएको बताउँदै उनले पक्राउ परेकालाई कानुनअनुसार कारबाही हुने बताए । सो समूहविरुद्ध कैलाली र काठमाडौँमा ६ वटा ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना सम्बन्धी दुईवटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार ०९:३०