सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

भीम रावलले भने, ‘मैले जबजको रक्षा गरे’

मैले केपी ओलीसँग प्रतिस्पर्धा गरेँ, अरुले टीको लगाएर पद लिए’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कसैको हातबाट टीका लगाएर आफूले पद लिन नचाहेको बताएका छन् । चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका उनी गृहजिल्ला अछाम पुगेर यस्तो बताएका हुन् ।

’म दसौँ महाधिवेशनमा पराजित भइसकेपछि कसरी अघि बढ्ने होला भन्ने भएको छ । तर केही साथीहरु विचलनको बाटो लागेका छन्,’ उनले भने, ‘जहाँसम्म पदको कुरा छ । चितवनको त्यो मञ्चमा बसिरहँदा केपी शर्मा ओलीले तपाईं उपाध्यक्ष भइदिनुस् कृपया भन्नु भएको थियो । तर मैले तपाईं र म अध्यक्षमा प्रतिस्पर्धा गरौँ भनेको थिएँ ।’

उनले आफू टीका लगाएर नेता हुन नचाहेको पनि बताए । ‘म टीका लगाएर उपाध्यक्ष हुन चाहेको होइन । पार्टी अध्यक्षले तपाईं उपाध्यक्ष भइदिनुस् भनेर आग्रह गर्नुभएको हो,’ उनले भने, ‘त्यसपछि केन्द्रीय सदस्य त मानिदिनुस् भनेको हो केपी ओलीले । तर मैले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेको होइन, म बस्दिनँ भनेर हिँडेको हो ।’

उनले टीका लगाएर नेतृत्व लिने रहर नभएको बताउँदै अध्यक्षमा पनि प्रतिस्पर्धा गरेर हारेकाले स्वाभिमान उच्च भएको तर्क गरे । रावलले आफूले जस्तै अरुले टीका लगाएर दिने पद चाहिँदैन भन्न नसकेको पनि बताए । त्यहीकारण अरु नेताहरुले टीका लगाएर पद लिएको भन्दै उनले कटाक्ष गरे ।

‘भीम रावल अध्यक्ष पदमा पराजित भएर कहीँ जाला भन्ने लागेको होला । तर म जहाँ छु त्यहीँ छु,’ उनले भने, ‘अब केही समयपछि हाम्रो देशमा स्थानीय र आमनिर्वाचन हुनेछ । अब हामी त्यता लाग्नुपर्नेछ । हामी जहाँ छौँ त्यहाँ अटल छौँ ।’ उनले प्रतिस्पर्धा गरेर यो महाधिवेशनमा जबजको रक्षा गर्न सफल भएको पनि बताए ।

‘यो महाधिवेशनमा जबजको रक्षा गर्न सफल भएँ । पार्टीमा यदि सबै नेताहरु हार्दिकतापूर्वक अर्को कुनै पदमा उठ्न चाहँदैनन् सर्वसम्मत हुन्छ । त्यसलाई म मान्छु,’ उनले भने, ‘तर घेरामा पारेर महिलाहरुको हात समातेर तपाईंहरु लड्न पाउनुहुन्न भनिन्छ भने त्यो निरंकुशता हो ।’

उनले चितवन महाधिवेशनको परिणामबाट अरु कतिपय साथीहरूमाथि अन्याय भएको पनि बताए । ‘केही साथीहरूमाथि पक्षपात भएको छ । अरुलाई पूर्वाग्रह गरिनु बेठीक हो,’ उनले भने, ‘म त उपाध्यक्ष र केन्द्रीय सदस्य अस्वीकार गरेको मान्छे हो । जब मान्छे नैतिक र राजनीतिक रुपमा विश्वस्त हुन्छ भने मन खुम्च्याउनु पर्दैन । मैले हारेँ भन्ने मेरो मनमा छैन ।’

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १७:१६