सूचनाको शक्ति - The Power Of Information

        

विकास बजेट फ्रिज हुन नदिन खेलकुद मन्त्रीको निर्देशन

बाँके । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले विकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तिव्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री अथकले यस्तो निर्देशन दिएका हुन् ।

विकास निर्माणको अवस्था र आइपरेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा मन्त्री अथकले विकास निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरुले ठेक्का पाइसकेपछि काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले विकासको गति पछि धकेलिएको स्मरण गराए ।

करिब एक दर्जन बढि कार्यालय प्रमुखहरुको उपस्थिति रहेको बैठकमा मन्त्री अथकले कुनै पनि कार्यालयलाई काम गर्न समस्या भएको खण्डमा आफुले सहजीकरण गर्ने प्रतिवद्धता समेत जनाए । कार्यालय प्रमुखहरुलाई सम्बोधन गर्दै मन्त्री अथकले काममा लापरवाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीहरुलाई सम्बन्धित कार्यालयले निरन्तर अनुगमन गरिरहने र जनतालाई पनि दवाब सृजना गर्न लगाउनुपर्ने बताए ।

त्यसक्रममा सिक्टा सिँचाई आयोजना, हुलाकी सडक, बाँकेमा पूर्ण विद्युतिकरण लगायत जिल्लाका विभिन्न स्थानमा निर्माण हुन लागेका सडक तथा पुल र विकास निर्माणको कार्यान्वयनको अवस्थाका बारेमा सम्बन्धित कार्यालय प्रमुखरुसँग जानकारी लिएका थिए । बैठकमा उपस्थित सम्पूर्ण कार्यालय प्रमुखहरुले समयमै काम सम्पन्न गर्ने प्रतिवद्दता जनाएका छन् ।

यसअघि मन्त्री अथकले मंगलबार पनि कोहलपुर क्षेत्रका कार्यालय प्रमुखहरुसँग छलफल गरेका थिए । राष्ट्रिय युवा परिषदको कार्यक्रममा सहभागी हुन बाँके आइपुगेका मन्त्री मन्त्री अथक आजै काठमाडौं फर्किएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १६:२५