सूचनाको शक्ति - The Power Of Information

        

जुम्लामा विजुली नियमित र व्यवस्थित गर्न काठमाडौंमा दबाब

जुम्ला । जुम्ला सदरमुकाम खलंगा लगायत आसपास क्षेत्रका गाउँमा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगे पनि नियमित विद्युत प्रवाह हुन सकेको छैन । यहाँका अझै आठवटै स्थानीय तहका गाउँमा राष्ट्रिय लाइन सहजैरुपमा पुग्ने सकेको छैन ।

यी सबै समस्य बोकेर जुम्लाका संघीय सांसद गजेन्द्रबहादुर महतले मंगलबार देशको राजधानी काठमाडौमा जुम्लामा बिजुली नियमित र व्यवस्थित गर्न दबाब दिँदै जुम्लाका नागरिकले काठमाण्डौमा सांस्कृतिक र्‍याली निकालेका छन् ।

जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतको नेतृत्वमा जुम्लाका नागरिकले शान्ति बाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयसम्म स्थानीय सांस्कृतिक र्‍याली निकालेर स्थानीय झाँकी, बाजागाजा र नाचगानसहित राज्यको सम्बन्धि निकायलाई दबाबमूलक ¥याली निकालिएको थियो ।

जुम्लामा बिजुली नियमित र व्यवस्थित गर्न पटक पटक विद्युत् प्राधिकरणलाई अनुरोध गर्दा पनि नसुनेको भन्दै सरकार र विद्युत् प्राधिकरणलाई सुनाउन बाजागाजासहित र्‍याली गर्नुपरेको प्रतिनिधिसभा सदस्य महतले बताए । जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको भए पनि पोल, तार र मिटर पुग्न नसकेको र गाउँगाउँमा प्रसारण लाइन विस्तार हुन नसकेको उनले बताए ।

कर्णालीको समस्या पटक–पटक राख्दा पनि सरकारबाट सुनुवाइ नभएको भन्दै उनले भने, ‘सजिलै सुन्दैन नेपाल सरकारले, विद्युत प्राधिकरणले । अनि सजिलै सुनेन भने बाजा बजाउने चलन छ हाम्रो कर्णालीतिर । कर्णालीमा प्रसारण लाइनको विस्तारको बारेमा कसैको ध्यान गइराखेको छैन ।’

र्‍यालीमा ‘हामीलाई बत्तीको मिटर देऊ, ट्रान्सफर्मरको व्यवस्था गर, मलाई पनि बत्तीमा पढ्ने रहर छ, हाम्रो खोलाको पानी त्यसै बग्यो, घर भने अँध्यारो छ, बत्तीमा भोल्टेज पनि हुनुपर्छ हो है’ लगायत लेखिएको प्ले कार्ड पनि प्रदर्शन गरिएको थियो ।

त्यसैगरी जुम्लाका सबै बस्तीमा बिजुली प्रसारण लाइनको विस्तार गर्न र प्रसारण लाइन पुगेका क्षेत्रमा चाँडोभन्दा चाँडो मिटर लगायतका आवश्यक सामग्रीको उपलब्धता गराउन प्राधिकरणका कार्यकारी निर्देशकलाई ज्ञापनपत्रसमेत बुझाइएको छ ।

र्‍यालीसहित नेपाल विद्युत् प्राधिकरणमा पुगेका जुम्लाका नागरिकले कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकक्षमा नजाने भन्दै घिसिङलाई ज्ञापनपत्र बुझ्न प्राधिकरणको आँगनबाहिर नै बोलाएका थिए । कुलमान आँगनमा आउन ढिलो गरेपछि ज्ञापनपत्र प्राधिकरण भवन बाहिर नै टाँसिएको थियो ।

यद्यपि कार्यकारी निर्देशक घिसिङ प्राधिकरणको आँगनमा आएर जुम्लामा मिटर पठाउने प्रतिबद्धता गरे । जिल्लाभरि बिजुली विस्तारका लागि टेन्डर आह्वान गर्न लागेको पनि उनले बताए । ज्ञापन पत्रमा ३३ केभीए प्रसारण लाइन निर्माणको काम चाँडो सम्पन्न गर्नुपर्ने र ११ केभीए लाइनमा भएको भोल्टेज उतारचढाव समस्या समाधान गर्नुपर्ने लगायतका माग पनि गरिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १६:१९