सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस महाधिवेशन : संस्थापन र इतर समूहको छुट्टाछुट्टै छलफल जारी

काठमाडौं । आगामी महाधिवेशनका बारेमा छलफलका लागि संस्थापन पक्ष र संस्थापन इतरका नेताहरुको छुट्टाछुट्टै छलफल चलिरहेको छ ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुृर देउवाले आफ्नो निजी निवास बूढानिलकण्ठमा आफू निकटका नेताहरुको भेला बोलाएका छन् ।

भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि आफू निकटका नेताहरुसँग छलफलका लागि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बोलाएका छन् ।

देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल भइरहेको छ । भने पौडेल पक्षको बैठकमा नेताहरुबीच साझा उम्मेदवार छनोटका लागि छलफल भइरहेको छ ।

यसअघि नै सभापति देउवाले सभापतिमा दोहोरिने तयारी गरिसकेका छन्। आजको बैठकमा अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल हुनेछ ।

त्यसैगरी वरिष्ठ नेता पौडेल समूहले पनि महाधिवेशनका लागि आफ्नो समूहबाट सभापतिको एकमात्र उम्मेदवार बनाउने विषयमा छलफललाई निरन्तरता दिएका छन् ।

सो समूहका नेताहरुले बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरुसँग राय–परामर्श गरी एक मात्र उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ । यसअघि नै पौडेल पक्षले साझा उम्मेदवार छनोटका लागि विभिन्न चरणमा छलफल गरेको छ ।

कांग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १०:३४