सूचनाको शक्ति - The Power Of Information

        

विपद् संकटग्रस्त क्षेत्र घोषणा

बझाङका ४ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुर्मा र मष्टालाई नसमेटेको भन्दै आपत्ति

बझाङ  । सरकारले बझाङका ४ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

जसमा बझाङका थलारा गाँउपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिका गरी ४ स्थानीय तह रहेका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले २०७८ साल माघ मसान्तसम्म लागू हुने गरी ती स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निणर्य गरेको हो ।

स्थानीय तह बाढी, पहिरोलगायतबाट प्रभावित भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

यता बझाङको सुर्मा र मष्टामा पनि क्षति भए पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा नगरिएको भन्दै यहाँका स्थानीय र पार्टी प्रतिनिधिले आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेसका नेता ज्ञानबहादुर बोहरा र निर्माण व्यवसायी दिपक रोकायाले मष्टालाई फेरि पनि समेट्न सामाजिक सञ्जाल मार्फत् आग्रह गर्नुभएको छ ।

उता सुर्मामा पनि धेरै क्षति भए पनि सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा नगरेको भन्दै समाजसेवी तथा व्यवसायी चक्र बोहराले आपत्ति जनाउनुभयो ।

यी स्थानीय तह बाढी, पहिरोलगायत विपदबाट प्रभावित भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहमा क्षतिको पुनःनिर्माण तथा पुनःस्थापनाको काम, घर तथा सडक तथा विद्यालय निर्माणको काम गरिनेछ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार ०९:३१