सूचनाको शक्ति - The Power Of Information

        

यस्तो हुन्छ कांग्रेस केन्द्रीय कार्यसमिति

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिमा एक सभापतिसहित १४ पदाधिकारी रहन्छन् । जसमध्ये कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्नेछ ।

कांग्रेस विधानमा कार्यसमितिमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ रहने व्यवस्था छ ।

सहमहामन्त्री महिला, आदिवासी÷जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पीछडिएको क्षेत्रबाट एक–एक जना हुने व्यवस्था छ ।

विधानअनुसार सभापतिले मनोनित गर्ने ३३ जना केन्द्रीय सदस्यबाहेक महाधिवेशनबाट सबै निर्वाचित हुनुपर्ने छ । केन्द्रीय सदस्य खुलामा ३५ जना, महिला खुलामा ९ जना निर्वाचित हुन्छन् ।

प्रत्येक प्रदेशबाट एक महिलासहित तीन जनाको दरले कुल २१ जना निर्वाचित हुनुपर्ने विधानमा व्यवस्था छ । केन्द्रीय सदस्य समानुपातिक र समावेशीको सिद्धान्तअनुसार ५६ जना निर्वाचित हुन्छन् ।

जसअन्तर्गत दलित कोटामा चार महिलासहित ९ जना, आदिवासी-जनजाति कोटामा सात महिलासहित १५ जना, खस-आर्य कोटामा ६ महिलासहित १३ जना, मधेसी कोटामा चार महिलासहित ९ जना, थारू कोटामा दुई महिलासहित चार जना, मुस्लिम कोटामा एक महिलासहित तीन जना, पीछडिएको क्षेत्रअन्तर्गत एक जना र अल्पसंख्यक-अपांग कोटाबाट दुई जना केन्द्रीय सदस्य निर्वाचित हुने विधानमा उल्लेख छ ।

सभापतिले मनोनित गर्ने ३३ जनामा एकतिहाइ महिला कार्यसमितिमा पुग्ने गरी समानुपातिक समावेशी सिद्धान्तको आधारमा गर्नुपर्ने भनिएको छ ।नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार ०८:५९