सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कांग्रेसको १४औं महाधिवेशन

महाधिवेशन प्रतिनिधिलाई मासुभात, खाना र आवासमा चार करोड खर्च

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनमा आफ्ना प्रतिनिधिलाई मासुभात खुवाएर होटलमा राख्ने भएको छ । मंसिर २४ गतेदेखि काठमाडौंमा हुनलागेको महाधिवेशनमा कांग्रेसले सबै प्रतिनिधिलाई खाना र बस्नको प्रबन्ध गरेको हो ।

१४औँ महाधिवेशनको लागि करिब ४५ सय प्रतिनिधि काठमाडौंमा जम्मा हुँदै छन् । उनीहरुलाई काठमाडौंमा व्यवस्थापन गर्न मुख्यतः सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ गरिएको छ । प्रतिबेड ८०० रुपैयाँमा बुकिङ गरिएको व्यवस्थापन समितिले जनाएको छ ।

तीन मुख्य ठाउँका होटल बुक

‘ठमेल, गौशाला र सुन्धार क्षेत्रमा बढी होटल बुकिङ गरिएको छ,’ महाधिवेशन आवास तथा खाना व्यवस्थापन समिति संयोजक सुरेन्द्र पाण्डेले भने, ‘४५ सय बेड आवश्यक पर्छ । जसमा अधिकांश बुकिङ गर्दैछौँ । धुम्वाराहीमा केही होटल बुकिङ गर्न बाँकी छ ।’

पाण्डेले मंगलबार ४५ सय बेड बुकिङ भइसक्ने जानकारी दिए । पार्टीले होटलमा बस्ने व्यवस्था गरे पनि खानाको व्यवस्था भने महाधिवेशन स्थल भृकुटीपण्डपमै गरिएको छ । प्रतिनिधिले भृकुटीमण्डप बाहिर खाएको रकम आफैँ तिर्नुपर्ने उनले बताए । मंसिर २४, २५, २६, २७ गते खाने व्यवस्था मिलाइएको छ ।

बस्ने व्यवस्था २३ गतेबाटै मिलाएको पाण्डेको भनाइ छ । ‘२४ गते उद्घाटन सत्र रहेकाले देशभरबाट २३ गते नै प्रतिनिधि आउँछन् । उनीहरुलाई २३ गतेबाटै होटलमा बस्ने व्यवस्था मिलाइएको छ,’ पाण्डेले भने, ‘खानाको व्यवस्था भने २४ गतेबाट महाधिवेशन अवधिभर हुनेछ ।’

महाधिवेशन लम्बिए १ करोडले बढ्नेछ खर्च

हाल २७ गतेसम्म महाधिवेशन चल्ने बताइए पनि केही दिन लम्बिनसक्ने उनले बताए । एक दिन लम्बिँदा करिब १ करोड हाराहारीमा खर्च बढ्ने उनको आकलन छ । होटलमा रहेका प्रतिनिधि बे्रकफास्टको लागि होटलबाट बिहानै भृकुटीमण्डपमा आउनुपर्नेछ ।

‘बिहान ब्रेकफास्ट, दिउँसो लञ्च र साँझ डिनर हुन्छ,’ पाण्डेले थपे, ‘ब्रेकफास्टमा कुकिज चियालगायत हुन्छ भने खानामा दाल, भात, तरकारी, अचारसहित मासुको व्यवस्था गरिएको छ ।’ प्रतिनिधिलाई उच्चस्तरको खाना व्यवस्था गरिएको बताउँदै उनले २ छाक २ थरि मासु रहेको बताए । जसमा एकछाक खसीको मासु हुनेछ ।

खानपानको व्यवस्था भृकुटीमण्डपमा दियालो फुडल्याण्ड वसुन्धरा र अनुपम फुडल्यान्ड गौशालाले संयुक्तरुपमा खाजा र खानाको व्यवस्था गर्नेछन् । पार्टीले त्यसको लागि फुडल्यान्डसँग सम्झौता गरिसकेको बताए ।

आफ्नै खर्चमा काठमाडौं

बाहिरबाट आउने प्रतिनिधि आफ्नै खर्चमा काठमाडौं आउने छन् । बिहान नजिकका हिँड्दै बेलुका गाडी चढेर होटलमा जाने व्यवस्था गरिएको छ । गौशाला र ठमेल जाने सवारीसाधनको भने व्यवस्था हुने पार्टीले बताएको छ ।

‘बिहान सार्वजनिक यातायात पाइने हुँदा आआफैँ भृकुटीमण्डप आउनुहुन्छ,’ पाण्डेले भने, ‘साँझ भात खाँदा होटल जान गाडी नपाइने हुँदा पार्टीले गाडीको व्यवस्था गरेको छ ।’

खाना र आवासको बजेट ४ करोडसम्म

पाण्डेले खाना र आवासका लागि साढे ३ करोडदेखि ४ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताए । उनले महाधिवेशन अवधि जति दिन थपिन्छ, त्यति खर्च बढ्दै जाने बताए । नेपालकै पुरानो दल नेपाली कांग्रेसले कोभिड महामारीको कारण देखाउँदै शक्ति प्रदर्शन भने नगर्ने जनाएको छ ।

१४औँ महाधिवेशनको लागि देशभर छानिएका प्रतिनिधि मात्रै काठमाडौं आउने कांग्रेसले जनाएको छ । कांग्रेसले महाधिवेशनमा खर्च व्यवस्थापनको लागि प्रत्येक प्रतिनिधिसँग ३ हजार रुपैयाँको दरले उठाएको पाण्डेले जनाए । त्यसबाहेक पदाधिकारी र केन्द्रीय सदस्य उम्मेदवारी शुल्कबाट केही रकम उठ्ने बताउँदै बाँकी पार्टी आफैँले व्यवस्थापन गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार १६:४८