सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभा सदस्य निर्वाचन, पुस २० मा उम्मेदवारी दर्ता, माघ १२ मा मतदान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि पुस १ गतेदेखि १० गतेसम्म दर्ता गर्नुपर्ने गरी मिति तोकिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन कार्यक्रम अनुसार पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । पुस १८ र १९ गते निवेदन तथा उजुरीमाथि छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गरिने पौडेलले बताए ।

पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य तालिका रहेको छ । तोकिएका मतदान केन्द्रहरूमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार १६:००