सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

नेपालमा फैलँदै ‘ओमिक्रोन भेरियन्ट’को त्रास

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित देखिइसकेका छन् । दक्षिण अफ्रिकामा यो भेरियन्ट भेटिएको १२ दिनपछि नेपालमा पनि भेटिएको पुष्टि भएको हो । हालसम्म यो भेरियन्ट संसारका ४० वटाभन्दा वढी देशमा देखिइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख गरिसकेको छ । डेल्टा भेरियन्टले दोस्रो लहरमा धेरै क्षति पुर्याएको नेपालमा पछिल्लो समय कोरोनाविरुद्धको खोप र अन्य कारणले संक्रमण कम हुँदै गएको थियो । जसले गर्दा जनजीवन सामान्यतर्फ फर्किसकेको अवस्थामा यो भेरियन्ट देखिएपछि पुनः अर्को त्रास फैलिएको छ ।

यो भेरियन्टका विषयमा धेरै कुरा अध्ययनकै क्रममा रहेका कारण पनि विज्ञहरूले अब थप सतर्कता अपनाउन सुझाव दिएका हुन् । इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक तथा वरिष्ठ जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीका अनुसार नयाँ भेरियन्टका बारेका खासै धेरै जानकारी नआए पनि नयाँ भेरियन्ट पुष्टि भएपछि सरकारले परीक्षण र खोप कार्यलाई तीव्रता दिनुपर्ने बताउँछन् ।

‘खोप नलगाएको भन्दा लगाएको राम्रो हुन्छ । त्यसैले अब सरकारले हालसम्म खोप नलगाएका समूह र यसअघि पूर्ण खोप लगाइसकेकालाई बुस्टर डोज तीव्र रूपमा दिनुपर्छ जसले गर्दा नयाँ भेरियन्टबाट हुने क्षति कम हुनसक्छ,’ उनले भने । यस्तै विदेशबाट आउनेलाई प्रवेश दिन पूर्ण निषेध गर्ने, नभए पूर्ण खोप लगाएको र पिसिआर नेगेटिभ आए मात्रै प्रवेश दिनुपर्ने बताए ।

सरकारले अब फेरि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागू गराउनुपर्ने र भिडभाड कम गर्नुपर्ने उनको भनाइ छ । यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार जनता यो भेरियन्टबाट तर्सनेभन्दा पनि सतर्क हुनुपर्ने बताए । फेरि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने समेत उनले बताए ।

यस्तै सरकारले अब संक्रमण बढ्छ कि बढ्दैन र अब देखिएका संक्रमितहरूको लक्षण कति कडा हुन्छ भन्ने कुरा विचार गरेर सोहीअनुसार अघि बढ्नुपर्ने बताए । ‘यो भेरियन्ट कति संक्रामक छ भन्ने कुरा हालसम्म बाहिर आएको छैन । हाम्रोमा नयाँ भेरियन्ट देखिसकेको अवस्था छ । यस्तो बेला जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्ने र खोप नै लगाउने हो,’ उनले भने ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार १५:१७