काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पुसमा हुन लागेको राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन परिपत्र गरेका छन् । अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनेलाई आफैँ खाने बस्ने व्यवस्था गर्न पनि भनेका छन् ।
प्रतिनिधिहरूलाई राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि जनही प्रतिनिधि शुल्क २ हजार रुपैयाँ तोकिएको छ । परिपत्रमा पदाधिकारीको छुट्टै आवेदन शुल्क नलिने पनि माओवादीले जनाएको छ । त्यस्तै सदस्यता शुल्क दाखिला गरेपछि पदाधिकारीका लागि बाँकी शुल्क मात्रै लिने व्यवस्था मिलाउने पनि माओवादीले जनाएको छ ।
२०७८ मंसिर मसान्तसम्म सबै केन्द्रीय विभागहरूको बैठकबाट राष्ट्रिय सम्मेलनको प्रतिनिधि चयन गरी प्रतिनिधिहरूको नामावली (नवीकृत सदस्यता नम्बरसमेत) पठाइसक्नु पर्ने परिपत्रमा उल्लेख छ । पार्टी केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनको लागि १० प्रतिशत मनोनित गर्ने प्रतिनिधिको व्यवस्था गरिएकोमा त्यसलाई घटाएर ५ प्रतिशतमा झारिएको छ ।
प्रदेशबाट राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिबारे प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्ने तयारी छ । त्यस्तै बाँकी १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने उल्लेख छ । केन्द्रीय प्रतिनिधिका रुपमा प्रस्तावित नेताहरूबारे सबै प्रदेशहरूसँग सल्लाह गरी समग्र र सन्तुलित प्रस्ताव पेश गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।
राष्ट्रिय सम्मेलनमा समसामयिक प्रस्ताव तयार पार्न नेताहरु गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, कमरेड गणेश साह रहेको तीन सदस्यीय समिति गठन गरिएको छ । सम्मेलन व्यवस्थापनका लागि नेता हितमान शाक्यको संयोजकत्वमा डिलाराम आचार्य, नारायण दाहाल, सत्या पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल मुख्य सचिव केन्द्रीय कार्यालय, रामप्रसाद सापकोटा र जगत सिंखडा रहेको व्यवस्थापन समिति गठन गरिएको छ ।
।