काठमाडौं । महाधिवेशनबाट पदाधिकारी छनौट गरिसकेको नेकपा एमालेले अब स्थायी समितिको टुँगो लगाउने तयारी गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली निकट स्रोतका अनुसार अब केही समयमै स्थायी कमिटि तयार गर्ने गरी गृहकार्य भइरहेको छ ।
ओलीनिकट एक नेताका अनुसार स्थायी कमिटी गठन गर्ने निश्चित मापदण्ड तय भएको छ।
पदाधिकारी स्वतः स्थायी कमिटी सदस्य हुने व्यवस्था छ। त्यसबाहेक यसअघि स्थायी कमिटीमा रहेका तर पदाधिकारीमा निर्वाचित हुन नसकेका नेताहरु स्वतः केन्द्रीय कमिटीमा पर्ने छन्। यसैगरी तत्कालीन नेकपा माओवादी केन्द्रबाट आएकाहरुबाट दुईदेखि तीन जना समेट्ने तयारी गरिएको छ।
पदाधिकारीमा जम्मा दुईजना मात्रै महिला परेका कारण स्थायी कमिटीमा सकेसम्म धेरै महिला समेटिने बताइएको छ। यसैगरी दलितबाट पनि प्रतिनिधित्व गराउने तयारी भइरहेको बताइएको छ।
तर उक्त सूचीमा भीम रावलको नाम भने छैन । अध्यक्षमा ओलीसँग हारेका उनले केन्द्रीय सदस्य समेत बहिष्कार गरेका थिए ।
हाल पदाधिकारीहरुमा केपी शर्मा ओली, ईश्वर पोखरेल, सुवास नेम्वाङ, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, विष्णु रिमाल, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, रघुवीर महासेठ रहेका छन् ।
यस्तै यो बाहेक स्थायी समितिमा रहनेहरुमा तत्कालीन स्थायी कमिटीमा रहेकाहरु मणि थापा, घनश्याम भुसाल, किरण गुरुङ, भीम आचार्य, रघुजी पन्त, माओवादी केन्द्रबाट आएका प्रभु शाह, टंक आङ्बुहाङ, गौरीशंकर चौधरी, महिला (यसअघि पोलिटब्यूरोमा रहेका) थममाया थापा मगर, डा. विन्दा पाण्डे, राधा ज्ञवाली, श्रीमाया थकाली रहने छन् ।
यस्तै अन्य सम्भावितहरुमा डा. शिवमाया तुम्बाहाङ्फे, सुजिता शाक्य, भानुभक्त ढकाल, शेरधन राई, यमलाल कँडेल, कर्ण थापा, अग्नि खरेल, काशीनाथ अधिकारी, अरुण नेपाल, परशुराम मेघी गुरुङ, नवौंमा हारेका तर पोलिटब्यूरो भइसकेकाहरुमा खगराज अघिकारी, कृष्णगोपाल श्रेष्ठ, देवराज घिमिरे, शेरबहादुर तामाङ, गुरु बराल, राजन भट्टराई, गोकुल घर्ती तथा ईश्वरी रिजाल र जितु गौतमको सम्भावना रहेको स्रोतले बताएको छ ।
।