सूचनाको शक्ति - The Power Of Information

        

अपराध

बडुवाल हत्या प्रकरणमा १२ जना पक्राउ, ९ जना अझै फरार

फाइल तस्वीर : भूपेन्द्र बडुवाल ।

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या अभियोगमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलनमार्फत भूपेन्द्रको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका १२ जनालाई सार्वजनिक गरेको हो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीका अनुसार सार्वजनिक गरिएका अभियुक्तहरुमा लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल छन् ।

यस्तै लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले, टीकपुरकै २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका–२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर पक्राउ परेका छन् ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने २६ वर्षीय सन्तोश भन्ने सविनजँग शाहीलाई पनि सार्वजनिक गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । बडुवालको हत्यामा संलग्न भएका र हत्या गर्न सघाउने अन्य ९ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २७ वर्षीय नवीन रावल, २६ वर्षीय अनुज भन्ने चिरन्जीवीजंग शाही, २६ वर्षकै हिमाल शाही, जानकी गाउँपालिका–६ बस्ने वर्ष २८ वर्षीय जयन्द्र शाह, टीकापुर नगरपालिका–१ बस्ने २७ वर्षीय विकास शेरचन, लम्कीचुहा–४ बस्ने २४ वर्षीय रोशनबहादुर शाही फरार रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

उनका अनुसार टीकापुर नगरपालिका–६ बस्ने अन्दाजी ३५ वर्षीय अशोक रावल, लम्कीचुहा नगरपालिका–३ बस्ने २५ वर्षीय लोकजंग शाही र बर्दियाको गरुवा गाउँपालिकाका २२ वर्षीय हेमन्त शाही पनि फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । उनीहरु मध्ये रावलसहितका केही युवाको हत्यामा संलग्न रहेको र केहीले घटनामा सघाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

एसपी अधिकारीले बडुवालको हत्यामा संलग्न भएको समूह लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेक्कापट्टामा वर्चश्व कायम गर्न अशोकजंग शाही समेतले युवाहरुलाई परिचालन गरेको खुलेको बताए । उनका अनुसार उक्त अपराधिक समूहलाई अभियुक्त मध्येका टीकापुरकै अशोक रावलले सरक्षण गरेको पाइएको छ ।

जयन्द्र शाह र नवीन रावलको समूहमा आपसी मनमुटाव भएर झगडा हुन थालेपछि हत्या प्रकरणसम्म पुगेको देखिएको छ। सोही कारण योजनाबद्ध रुपमा गत कात्तिक २३ गते धारिलो हतियार प्रहार गरेर बडुवालको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार १३:५४