काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो । दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए । यसैबीच, छिमेकी देश भारतमा पनि ओमिक्रोनबाट संक्रमितको संख्या पाँच गुणाले बढेको छ ।
पछिल्लो पटक विश्वभर फैलिइरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरुको संख्या पनि एकै दिन पाँच गुणाले बढेको भारतीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । भारतमा ओमिक्रोनबाट संक्रमितको संख्या २१ पुगेको छ ।
भारतीय मिडियाका अनुसार यसअघि भारतमा ओमिक्रोनबाट संक्रमितको संख्या ४ थियो । आइतबार राजस्थानमा ९, महाराष्ट्रमा ७ र दिल्लीमा एक जना ओमिक्रोन संक्रमण पुष्टि भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
।