सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा भारतबाट फर्किनेले सात दिन क्वरेण्टीनमा बस्नुपर्ने

बैतडी । भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वरेण्टीनमा राखिने भएको छ ।

भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि बैतडीमा भारतबाट फर्केकालाई अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने भएको हो ।

कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भनेर भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वरेण्टीनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनभयो ।

भारतबाट फर्केका नागरिकलाई होम क्वरेण्टीनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न पालिकालाई पत्राचारसमेत गरिएको छ । उहाँले भन्नुभयो, ‘भारतबाट फर्किनेको  सीमानाका झुलाघाटमै एन्टिजेन परीक्षण गर्ने र उनीहरुलाई अनिवार्य रुपमा क्वरेण्टीनमा बस्न भनेका छौँ ।’

झुलाघाटमा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षण कार्य सुरु गरिएको छ । यसका साथै सीमामा आवातजावत गर्दा अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ ।

यसैबीच कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सीमा क्षेत्रमा भारतीय प्रशासनले पनि कडाइ गरेको छ ।

झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरुले अनिवार्य रुपमा कोरोनाका दुवै डोज लगाएको कार्ड लैजानु पर्ने भएको छ ।

कोरोनाविरुद्धको खोपकाे दुवै डोज लगाएपछि १५ दिनपछि भारत पस्न दिइने भारतीय प्रशासनले जनाएको छ । पिथौरागढ जिल्ला अधिकारीको कार्यालयले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पत्र लेखेर नेपालबाट भारत पस्नेलाई अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने बताएको छ ।

दुवै डोज खोज लगाएको कार्ड नभएकालाई सीमाबाट जान नदिने भारतीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार १२:१७