सूचनाको शक्ति - The Power Of Information

        

समाचार

जाडो छल्न बेशी झर्दै भेडीगोठ

बझाङ । चिसो बढेसँगै बझाङका भेडापालक जाडो छल्न बेशी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा चिसो अत्याधिक बढन थालेपछि भेडीगोठहरु वेशीतर्फ झार्न थालिएको हो । बझाङको साइपाल, सुर्मा, छविसपाथीभेरा, तल्कोट गाँउपालिका र बुङगल नगरपालिकाका भेडापालकहरु चरनका लागि बर्षायाममा लेकतिर जाने र हिँउदमा बेशीँ झर्ने गर्दछन् ।

चार हजार मिटरभन्दा अग्ला पाटनहरुमा भेडा चराउनु यस क्षेत्रका भेडापालकहरुको दैनिकी भए पनि चिसो बढेसँगै मंसिरमै बेशीतिर झर्न थालेका हुन् । बुङगल नगरपालिका–२ लौनेका किशोर धामीले आफ्ना १५० बढी भेडा ल्याएर चिसो अत्याधिक बढेकाले जाडो छल्न बेशी झरेको बताए ।

भेडा चराउने हिमाली पाटनहरुमा चिसो बढन थालेपछि उनीसँगै गएका अन्य भेडापालकहरु बेशी झरेको उनको भनाई छ । उनीसँगै सोहि गाँउका नर बहादुर धामी, जय धामी, हर्क धामी लगायतका भेडापालकहरुले ६ महिना धौलाढुङगा, चुफी, जलजला र रेलागाडका पाटनहरुमा विताएको बताए ।

उनीहरु ८०० बढी भेडाबाख्रा लगेर जेठको पहिलो साता भेडा चराउन पाटनतिर गएका थिए । वर्षौदेखि ती पाटनहरुमा भेडा चराउँदै आएका उनीहरुले यसबर्ष चिसो निक्कै बढेको बताए । चिसो बढेसँगै भेडा मर्नथाले पछि यसपाली छिट्टै भेडालाई बेशी झारिएको हो । चिसो बढेसँगै भेडाले बेशीतिर झर्ने सङ्केत गर्ने गरेको अर्का भेडापालक जय धामीले बताए ।

उनले भने, ‘गर्मी बढेपछि बेशीबाट लेकतिर जान खोज्छन् भने लेकमा जाडो बढेपछि वेशी तर्फ झर्छन् । उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र बढी गर्मी पनि मन पराउँदैनन् । हामीहरुले पनि गोठ सार्ने गर्नुपर्छ ।’ कात्तिकदेखि फागुनसम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले बेँसीतिर झर्ने गरेको उनको भनाई छ ।

यता छविसपाथीभेरा गाँउपालिकाका शुक्र बोहरा पनि ३०० भेडाको बथानसहित आफ्नै गाँउ बुडखोरी झरेका छन् । टकरमाली, रिखैन, मटामेला, खार, जामनाडाडां लगायतका क्षेत्रमा महिनौँ दिन बिताएका बोहरा जाडो बढेसँगै भेडी गोठ लिएर औल झरेका हुन् । जाडोयामका केही समय लेकाली क्षेत्रमा टम्म हिउँ पर्छ ।

उनले भने, ‘भेडापालकहरु घुमन्ते शैलीमा हिमाली क्षेत्रमा हिउ पर्न थालेसँगै बेशी झर्ने र गर्मी बढेसँगै हिमाली भेगतिर जाने गर्दछन् ।’ फागुन अन्तिमसम्म बेशीमै रहने र गर्मी बढेसँगै चैत महिनामा लेकतिर जाने बोहराको भनाई छ । चर्को गर्मी र ज्यादै चिसो सहन नसक्ने भेडालाई अहिले जाडोबाट बचाउनकै लागि बेशी झार्न थालेको समेत बताए ।

वर्षभरि लेकबेंशी गरेर भेडापालन व्यवसायमा लागिरहेकाहरूलाई हिँउदको समयमा भने सास्ती हुने गरेको छ । चरनका लागि लेकाली क्षेत्र खुला हुने भए पनि वबशी झर्दा सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको भेडापालकहरूले गुनासो गरेका छन् ।

छविसपाथिभेरा गाउँपालिकाका मिन धामीले भने, ‘व्यवसायी सामुदायिक वनको नाममा स्थानीयले अनावश्यक दुःख दिन थालेपछि परम्परादेखि गर्दै आएको व्यवसाय संकटमा पर्न लाग्या छ । पहिलेदेखि भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानीयले वन संरक्षण गर्ने भन्दै चरिचरन गर्न नदिएपछि वेशी झर्दा भेडा चराउन समस्या हुने हो ।’

धामीका अनुसार सामुदायिक वनमा भेडा चराएवापत सामुदायिक वनलाई शुल्क तिर्नुपर्छ । धामीले भने, ‘विरानो ठाउँमा भेडाबाख्रा चराउँदा राति बास बसेको ठाउँमा ढुंगा हान्ने, मदिरा खाएर समूह आएर दुःख दिने गर्छन् । केही वर्ष अघिसम्म यहाँका अधिकांस मानिसको मुख्य पेसा नै भेडापालन थियो ।’

अहिले यो पेशाप्रतिको आकर्षण क्रमिकरूपमा घट्दै गएको छ । चरन क्षेत्रको अभावले र पछिल्ला पुस्ताका युवाको वैदेशिक रोजगारको मोहका कारण पनि यो पेसा संकटमा परेको उनको भनाई छ । सामुदायिक वन उपभोक्ता समितिहरूले भने समुदायले संरक्षण गरेको वनमा हुलका हुल भेडाच्याङ्ग्रा चराउँदा विनास गर्न थालेपछि अधिकांस ठाँउका सामुदायिक वनमा चरिचरनमा रोक लगाउनु परेको बताउँछन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार १२:११