सूचनाको शक्ति - The Power Of Information

        

यात्रा अनुभूति

चुरेको डाँडामा सरर… साइकल गुडाउँदै (फोटो र भिडियोसहित)

गत शनिबार हामीले सामुहिक साइकल यात्रा गर्ने सूचना गर्‍यौं । धेरै साथीहरूले इच्छा देखाउनु भयो । हामीले यो शनिबारको गन्तव्यका रूपमा बाँके जिल्लाकै चर्चित धार्मिक गन्तव्य रोजेका थियौं । चुरेको डाँडामा रहेको सन्तानेश्वर महादेवको मन्दिर । जसमा २० जनाको सहभागिता रह्यो । यात्राको संयोजन नेपालगन्ज साइक्लिङ क्लबले गरेको थियो ।

एउटा नौलो थिम थियो यो साइकल यात्राको, ‘मन्दिरदेखि मन्दिरसम्म’ । त्यसैले शनिबार बिहान हामी सबैले रोजियो जम्मा हुने ठाउँ बागेश्वरी मन्दिर । जहाँ विहानको ६ बजे यात्रामा सहभागी हुने सबै पुगिसक्नु भएको थियो । अनि बागेश्वरी मन्दिर र जुङ्गे महादेवको दर्शन पश्चात् हामीले पाइडल हान्दै साइकललाई पूर्वतिर मोड्यौं ।

त्रिवेणीमोड, फुल्टेक्रा हुँदै राप्ती पुलतर्फ हाम्रा साइकलहरु आफ्नै बेगमा अगाडि बढे । राप्ती नदीमा उदाउँदो सुर्यको चम्किलो र न्यानो किरणले हामीलाई स्वागत गरिरहेको थियो । राप्तीको पुल प्रवेश गर्दैगर्दा लाग्थ्यो न्यानो सुर्यको तापसँगै राप्ती पुल नै हाम्रा लागि स्वागतद्वार झैं सुनौलो लालिमा बोकेर उभिएको थियो । शान्त राप्ती नदीले हामीलाई स्वागत गर्दै थिइन् ।

बागेश्वरी मन्दिरबाट घुमिरहेको पाइडल राप्तीसोनारी गाउँपालिका–७ मा पर्ने ‘साइली माइली होटल’ नपुगुन्जेल चलिनै रहे । हामी साइकलेहरुको ठिहा अर्थात् बिसौनी बनेको छ, त्यो होटल । हामी केहिबेर त्यहाँ विश्राम गर्दै आ–आफ्नो इच्छा अनुसारको चियापान गरेर नरैनापुरतिर अघि बढ्यौं । केहि सानोतिनो रकम भए पनि खर्च गरेर आन्तरिक पर्यटनलाई चलायमान बनाउने प्रयत्न पनि हो यो हाम्रो ।

जुनसुकै गाउँ वा ठाउँ पुगे पनि हामीले त्यहाँ स्थानीय रूपमा पाइने खानेकुरा खाने र केही न केही रुपैयाँ भए पनि खर्च गर्ने गरेका छौं । नरैनापुरको सिमा प्रारम्भसँगै अब पिचरोड छोडेर पूर्वतर्फको जङ्गलतिर प्रवेश गर्‍यौं । हामी हरियाली जङ्गल र जङ्गलका अप्ठ्यारो ट्रेलमा माउन्टेन बाइकिङ्गको मज्जा नै बेग्लै हुन्छ । ३/४ जना साइकले साथीहरू बेलाबेलामा लड्दै पाइडल मार्दै हुनुहुन्थ्यो ।

साइकल कुदाउँदा कुदाउँदै लड्नु पनि बिशेष हुन्छ । यसरी नेपालगन्जबाट ४० किलोमिटरको साइकल यात्रापछि हामी चुरेको डाँडामा उक्लियौं । कतै बिस्तारै कुदाउँदै कतै ठेल्दै गुडाउँदै त कतै काँधैमा बोकेर हामी ‘दिब्यदर्शी आश्रम’को आँगनीमा पुग्यौं । हामीलाई सन्तानेश्वर मन्दिरका मुलमहन्त योगानन्द गिरीजी महाराजले स्वागत गर्नुभयो ।

फ्ल्याट तराईबाट त्यो चुरेको चुचुरोमा पुग्दा मन फुरुङ्ग भो । केहिबेर भए पनि छुट्टै आनन्दको अनुभूति भयो । झण्डै अढाई घन्टा बढीको साइकल यात्राको थकान पनि भुलियो । आश्रममा मुल महन्तजीले चिया खुवाउनु भयो । अनि हामी आश्रमदेखि अझै माथि रहेको मन्दिरतर्फको पदयात्रामा अगाडि बढ्यौं । मन्दिरमा पुजापाठ, फोटो सेसनपछि हामी पुनः तल आश्रममै ओर्लियौं ।

महन्त जीको भोजन गरेर जानुपर्ने आग्रहलाई स्वीकार गर्दै केहि साथीहरू खाना पकाउन लाग्नुभयो भने केहि साथीहरू जर्किन बोकेर पानी लिन जानुभो । यसरी १ घन्टाभित्रमा हामी २० जनाका लागि आश्रमले उपलब्ध गराएको दाल, चावल र तरकारी पाक्यो । हामीले रमाइलोसँग सामुहिक भोजन ग्रहण गर्दै आश्रमबाट विदा भयौं । यसरी एक दिनभरीको फुल राइड रमाइलोसँग पुरा गरी हामीले ‘मन्दिरदेखि मन्दिरसम्म’को एक दिवसीय साइकल यात्रा पुरा गर्न सफल भयौं ।

(लेखक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष हुन् ।)

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार १०:०१

सिफारिस