सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

राप्रपाका नवनिर्वाचित कार्यसमितिकाे शपथ ग्रहण, थापा अनुपस्थित

५० जना सदस्य अध्यक्षले मनोनित गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।

आज आइतवार काठमाण्डाैमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ लिनुभयो ।

त्यसपछि नवनिर्वाचित उपाध्यक्ष र महामन्त्रीहरूलाई बस्नेतले शपथ गराउनुभएको थियो । त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई अध्यक्ष लिङ्देनले शपथ खुवाउनुभएको थियो ।

शपथ ग्रहण समारोहमा निवर्तमान अध्यक्षद्वय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित हुनुभएको थियो भने अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने सहभागी हुनुभएको थिएन ।

कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गर्नुभएको थियो ।

काठमाण्डाैकाे भृकटीमण्डपमा आज बिहान सम्पन्न एकता महाधिवेशनले लिङ्देनको नेतृत्वमा आठ जना पदाधिकारी र एक सय केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

 राप्रपाको एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमा ५० जना सदस्य अध्यक्षले मनोनित गर्नेछन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतवार १६:१७