सूचनाको शक्ति - The Power Of Information

        

भारतको नागाल्याण्डमा सुरक्षाकर्मीले झुक्किएर गोली हान्दा १३ सर्वसाधारणको मृत्यु

काठमाडौं ।  भारतको नागाल्याण्ड राज्यको मोन जिल्लामा सुरक्षाकर्मीले चलाएको गोली लागेर १३ जना सर्वसाधारणको मृत्यु भएको छ। उक्त घटनामा  एक जना सिपाहीको पनि मृत्यु भएको छ।

घटना म्यानमारसँग सीमा जोडिएको मोन जिल्लाको ओटिङ गाउँमा भएको हो। सुरक्षाकर्मीले आतंकवादीविरुद्धको अप्रेशनको क्रममा गलत ठाउँमा हमला गर्दा  उनीहरुले ज्यान गुमाएका हुन्।

उक्त अप्रेशनका क्रममा स्थानीयको मृत्यु भएपछि गाउँलेहरुले सुरक्षाकर्मीलाई घेरा हालेका थिए। त्यसक्रममा सुरक्षाकर्मीले ‘आत्मरक्षा’का लागि गोली चलाएको बताइएको छ। आक्रोशित स्थानीयले सुरक्षाकर्मीका गाडीमा आगजनी गरेका थिए।

उक्त क्षेत्रमा उग्रवादीहरुको गतिविधि सञ्चालन भइरहेको विश्वसनीय सूचनाको आधारमा उक्त अप्रेशन चलाइएको सुरक्षाबलको दावी छ।

भारतका  गृहमन्त्री अमित शाहले उक्त  घटनाप्रति दुःख व्यक्त गर्दै छानविन गर्न आदेश दिएका छन्।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतवार १५:४६