सूचनाको शक्ति - The Power Of Information

        

राप्रपा एकता महाधिवेशन

‘आफ्ना पक्षका धेरैले जिते, तर कमल थापा आफैले हारे’

निर्वाचन नतिजाअनुसार राप्रपाको अध्यक्ष पदमा थापालाई २ सय मतले हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका हुन् ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा हारे पनि अन्य पदाधिकारीमा भने धेरैजसो उनी पक्षका उम्मेदवार विजयी भएका छन् ।

आज (आइतबार) बिहान सार्वजनिक निर्वाचन नतिजाअनुसार राप्रपाको अध्यक्ष पदमा थापालाई २ सय मतले हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका हुन् ।

विजयी लिङ्देनले १८१७ मत पाए भने थापाले १६१७ मत । कूल ३८६५ मत खसेकामा ४३१ वटा बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

अन्य पदाधिकारीमा भने धेरै थापा पक्षकै उम्मेदवार विजयी भएका छन् । राप्रपाको निर्वाचन समितिअनुसार चार उपाध्यक्षमध्ये तीन जना कमल थापा समूहकै विजयी भएका छन् ।

सर्वाधिक मतका साथ उपाध्यक्ष पदमा विजयी विक्रम पाण्डेलाई दुवै पक्षले आफ्नो सूचीमा राखेका थिए । यस्तै अन्य २ जना विजयी बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान थापा प्यानलकै हुन् ।

महिला उपाध्यक्षतर्फ पनि कमल थापा समूहकै रोशन कार्की विजयी भएकी छन् । उपाध्यक्षमा विजयीमध्ये पाण्डेले सबैभन्दा बढी २५२१ मत पाए । यसपछि तामाङ र प्रधानले क्रमशः १९४४ १८१४ मत पाएका छन् ।

थापा पक्षबाट महिलातर्फ उपाध्यक्षमा विजयी कार्कीले १५८९ मत प्राप्त गरेका छन् । यस्तै तीन महामन्त्रीमध्ये २ जना थापा पक्षकै उम्मेदवार विजयी भएका छन् ।

उनको समूहका भुवन पाठक र महिलातर्फ कुन्तीकुमारी शाही महामन्त्री पदमा विजयी भएकी हुन् । लिङ्देन पक्षका डा.धवलशम्शेर राणाले जिते भने रेखा थापाले हारिन् ।

महामन्त्री पदमा विजयीमध्ये लिङ्देन पक्षका धवलशमशेरले सबैभन्दा बढी २२२१ मत प्राप्त गरेका छन् । थापा पक्षबाट विजयी पाठकले भने १७०५ भोट पाएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै थापा पक्षबाटै महिला महामन्त्रीतर्फ विजयी शाहीले २००८ मत ल्याउँदा लिङ्देन पक्षकी पराजित नायिका रेखा थापाले १६४० मत पाएकी छन् । यो निर्वाचनले ४ उपाध्यक्ष र ३ महामन्त्रीसहित राप्रपाका १४८ जना केन्द्रीय सदस्य चुनेको हो ।

गत बुधबार उद्घाटन भएको राप्रपाको एकता महाधिवेशनअन्तर्गत शनिबार दिउँसो करिब १२ बजे सुरु भएको निर्वाचन (मतदान) राति साढे ११ बजेतिर सकिएको थियो ।

लगत्तै सुरु गरिएको मतगणना आइतबार बिहान १ बजे सकिएको थियो । अध्यक्ष पदका लागि कागजको मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि विद्युतीय मतदान गरिएको थियो ।

कूल ४ हजार ३७९ महाधिवेशन प्रतिनिधिमध्ये ५१४ जनाले मतदानमा भाग नलिएको राप्रपा निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतवार ०९:४६