बाँके । जिल्ला हुलाक कार्यालय बाँकेले हुलाक सेवालाई छिटोछरितो र प्रभावकारी बनाउन द्रुत डाँक सेवा सुरु गरेको जनाएको छ ।
सेवाग्राहीको माग र आफूलाई समयको गतिअनुसार परिमार्जित गर्दै हुलाक कार्यालय बाँकेले नेपालगन्जबाट काठमाडौँ र जुम्ला, हुम्ला, मुगु तथा डोल्पाका लागि हवाई मार्गमार्फत द्रुत डाँक सेवा सुरु गरेको कार्यालय प्रमुख गोविन्द पाण्डेले बताए ।
पाण्डेका अनुसार हवाई द्रुत डाँक सेवाका लागि श्रीएयर तथा समिट एयरसँग डाँक ढुवानी सम्झौता गरिएको छ । हवाई द्रुत डाँक सेवाअन्तर्गत जिल्ला हुलाक कार्यालय बाँकेको काउन्टरमा प्रत्येक दिन एक बजेसम्म द्रुत डाँक सेवाका डकुमेन्ट दर्ता गर्ने र उक्त डकुमेन्ट सोही दिन ४ बजे श्रीएयरमार्फत काठमाडौँ पुर्याइने कार्यालय प्रमुख पाण्डेले बताए ।
सोही दिन गोश्वारा हुलाकको सवारीसाधनबाट सङ्कलन गरी २४ घन्टाभित्र प्रापक सेवाग्राहीको हातमा पुग्ने गरी छिटोछरितो तथा भरपर्दो सङ्कलन, ढुवानी तथा वितरणको व्यवस्था मिलाइएको प्रमुख पाण्डेले बताए ।
हवाई द्रुत डाँक सेवामार्फत चिठीपत्रका साथै अन्य सामग्रीसमेत पठाउन सकिने जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख पाण्डेले जानकारी दिए । ‘यसरी दर्ता भएका वस्तु हुलाक सेवाको सवारीमार्फत प्रापकको ठेगानासम्म छिटोछरितो होम डेलिभरीको व्यवस्था गरिएको छ,’ उनले भने ।
हुलाकको सेवालाई व्यवसायीकरण तथा विविधीकरण गर्दै प्रभावकारी बनाउन आउँदा दिनमा यो सेवालाई लुम्बिनी प्रदेशका सबै जिल्लामा विस्तार गरिनुका साथै छिमेकी मुलुक भारत तथा जापानजस्तै नेपालमा समेत पोस्ट र कमर्सियल सेवा पनि सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला हुलाक प्रमुख पाण्डेले बताए ।
।