सूचनाको शक्ति - The Power Of Information

        

अपराध

सीमापारिबाट रोकिएन तस्करी

फाइल तस्वीर

बाँके । भारतबाट नेपालतर्फ हुँदै आएको तस्करी रोकिएको छैन । नेपाल भारत खुला सिमानाको लाभ उठाउँदै तस्करहरूले दिनदिनै लाखौँका अवैध सामान नेपाल भित्र्याउने गरेको पाइएको छ ।

नाकामा रहेका जनपद र सशस्त्र दुवै प्रहरीले दिनदिनै तस्करीको सामान बरामद गरिरहेको छ । तस्करीमा संलग्नहरू पक्राउ नपर्दा तस्करी नरोकिएको स्थानीयवासीको ठहर छ । प्रहरीले सधैँ सामानमात्रै बरामद देखाउने तर तस्कर किन समात्दैन भनेर नेपालगन्जका व्यवसायी प्रश्न गर्छन् ।

नेपालगन्जका व्यवसायी कृष्णप्रसाद श्रेष्ठले राजस्व छलेर भित्र्याउने तस्करीको सामान सधैँ बरामद भए पनि तस्कर पक्राउ नपर्नुको रहस्य बुझ्न नसकेको बताए । उनले तस्कर पक्राउ नपरेसम्म तस्करी नरोकिने प्रस्ट पारे ।

प्रहरी युनिटका एक अधिकृतले प्रहरीले तस्कर पक्राउ गर्न नसक्नुको मुख्य कारण सामान छोडेर तस्कर भाग्नु भएको बताए । उनले तस्करलाई हेर्नेबित्तिकै सामान छोडेर भाग्ने गरेकाले उनीहरूलाई पक्राउ गर्न निकै समस्या हुने गरेको बताए ।

सशस्त्र प्रहरीको टोलीले नेपालगन्ज सीमा नाकाबाट भन्सार छली गरेर ल्याउँदै गरेको ठूलो परिमाणमा फेरि अवैध लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले दुई लाख २५ हजार ५०० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको जनाए ।

नेपालगन्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण वागेश्वरी बाँकेबाट गएको टोलीले भारतबाट भन्सार छली गरेर नेपालगन्ज–१५, पिपरा हुँदै ल्याउँदै गरेको अवैध लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतवार ०९:०९