सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

राप्रपामा विक्रम पाण्डे सबैभन्दा ‘लोकप्रिय’, को कति मतसहित विजयी ?

सुरुबाटै लिङ्देनलाई बलियो साथ दिएका धवलशम्शेर राणाले महामन्त्री पदमा सबैभन्दा धेरै २२२१ मतसहित जित निकाले ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि कमल थापाले पदाधिकारीतर्फ पकड जमाएका छन् । निर्वाचन आयोगले आइतवार बिहान भृकुटीमण्डपमा घोषणा गरेको परिणाममा थापा पक्षले पदाधिकारीमा पकड बनाएको हो ।

आयोगको विवरण अनुसार उपाध्यक्ष, महामन्त्रीसहितका पदमा थापाको प्यानलबाट उठेकाहरुले जित निकालेका छन् । राप्रपामा सबैभन्दा धेरै भोट विक्रम पाण्डेलाई खसेको छ । पराजित थापा र विजयी राजेन्द्र लिङ्देन दुवै प्यानलबाट उनी उपाध्यक्षमा उठेका थिए ।

तर उनी मतदानअघि निर्वाचन प्रचारका क्रममा खुलेर लिङ्देनको पक्षमा भोट माग्दै हिँडेका थिए । उनले उपाध्यक्षमा सर्वाधिक २५२१ मत ल्याएका छन् । त्यस्तै अन्य उपाध्यक्षमा बुद्धिमान तामाङ १९४४ मतसहित विजयी हुँदा १८१४ मतसहित थापा प्यानलकै ध्रुवबहादुर प्रधानले पनि उपाध्यक्ष पद पक्का गरेका छन् ।

त्यस्तै कमल थापा प्यानलकै रोशन कार्की पनि महिला उपाध्यक्षमा १६८९ मतसहित विजय भइन् । उता सुरुबाटै लिङ्देनलाई बलियो साथ दिएका धवलशम्शेर राणाले महामन्त्री पदमा सबैभन्दा धेरै २२२१ मतसहित जित निकाले । कमल थापाले माइनस गरेपछि विद्रोह गर्दै नेपालगन्जका मेयर राणाले सुरुबाटै लिङ्देन प्यानल बनाएर महाधिवेशनमा होमिएका थिए ।

अर्को महामन्त्रीमा थापा प्यानलका भुवन पाठक १८०५ मतसहित विजयी भएका छन् । महिला महामन्त्रीमा थापा प्यानलकी कुन्ती शाही विजयी भएकी छन् । उनले नायिक रेखा थापालाई हराइन् । लिङ्देन प्यानलकी थापाले १६४० मत ल्याउन सफल भइन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतवार ०८:३४