काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् ।
लिङ्देनले एक हजार ८४४ मत ल्याएका छन् । अर्का प्रत्यासी कमल थापाले जम्मा एक हजार ६१७ मत ल्याएको राप्रपा बाँकेका युवा नेता तथा नेपालगन्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष मो.सफिक बेहनाले जानकारी दिए ।
उनका अनुसार नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भई भएको थियो भने आइतबार बिहान ३ बजेबाट मत गणना शुरु भएको थियो । मतदानका क्रममा तीन हजार ८७३ मत खसेको थियो भने ४१३ मत बदर भएको थियो ।
अध्यक्षका प्रत्यासी कमल थापाले पराजय स्वीकार गरेका छन् । हार स्वीकारपछि आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई पनि दिएका छन् । उनले लिङ्देनलाई बधाई दिँदै आफ्नो पराजयको दोष निर्मल निवासलाई लगाएका छन् ।
‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु,’ कमल थापाले ट्वीटरमा लेखेका छन्, ‘नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाइ तथा शुभकामना ।’
थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन् । ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु ।’
।