सूचनाको शक्ति - The Power Of Information

        

भाेलिदेखि आफू बसिरहेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले भोलिदेखि आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताउनुभएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अब ७७ जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताउनुभयो ।

आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव गर्न आयोगले तयारी गरिरहेको समेत उहाँले बताउनुभयो । यसैगरी अब उम्मेदवारी घोषणा गर्दा उम्मेदवारको सम्पत्ति विवरण लिने कानुन पनि आयोगले बनाएको छ ।

चुनावको बेला हरेक सात/सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको र यी कुरा हेर्नका लागि पालिकाको निर्वाचन हुँदा ७५३ ठाउँमा अनुगमन गर्ने समिति, प्रदेशको निर्वाचन हुँदा ३३० ठाउँमा, प्रतिनिधि सभाको निर्वाचन हुँदा १६५ ठाउँमा अनुगमन समितिको व्यवस्था गरिएको पनि आयोगले जनाएको छ ।

राष्ट्रिय सभाको चुनावमा भने खाता, सम्पत्ति विवरण लगायतका कुराहरु स्वयम् आयोगले नै हेर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार १०:०४