सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा मतदाता नामावली संकलन कार्य सुरु हुँदै

बझाङ । आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बझाङमा पनि फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम अन्र्तगत फोटो सहितको मतदाता नामावली संकलन कार्य सुरु हुने भएको छ ।

जिल्लाका सबै स्थानीय तहका केन्द्रमा नामावली संकलन कार्य सञ्चालन गरिन लागिएको हो । मंसिर १७ गतेदेखि सुरु हुने नामावली संकलन कार्य दुई चरणमा सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख भानुभक्त भट्टले जानकारी दिनुभयो ।

दुई चरणमा सञ्चालन हुने नामावली संकलन कार्य १० दिनसम्म सञ्चालन हुने बताइएको छ । २ वटा नगरपालिका, १० वटा गाउँपालिका रहेको बझाङ जिल्लामा पहिलो चरणमा मंसिर १७ गतेदेखि मङ्सिर २६ गतेसम्म जिल्लाका बुंगल नगरपालिका, थलारा, खप्तडछान्ना, मष्टा, साईपाल गाउँपालिका र छविसपाथिभेरा गाउँपालिकामा सञ्चालन हुनेछ ।

दोस्रो चरणमा मङ्सिर २९ गतेदेखि पुस ९ गतेसम्म बित्थडचिर ,केदारस्यु ,दुर्गाथली, सुर्मा र तलकोट गाउँपालिकामा सञ्चालन हुने निर्वाचन कार्यालयले जनाएको छ ।

नामावली सङ्कलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहनेव्यवस्था मिलाइएको जनाइएको छ ।

सम्बन्धित पालिकाको तीन र जिल्ला निर्वाचन कार्यालयबाट एकजना कर्मचारी खटाइने भएको छ । स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली संकलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले फोटो खिचाउने र नाम दर्ता गराउन सक्नेछन् ।

फोटोसहितको मतदाता नामावली संकलनको लागि आउँदा अनिवार्य रूपमा नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र ल्याउनुपर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बझाङमा हालसम्म १ लाख २० हजार ९ सय ७१ जनाले भन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार १०:१६