सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ कांग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका

काठमाडौं। कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छर केन्द्रीय निर्वाचन समितिले सोमबार प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो।

यसअघि निर्वाचन समितिले उद्घाटन समारोह पहिल्यै देखि निर्वाचन कार्यक्रम अघि बढाउने तयारी गरेको थियो। तर, सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच सोमबार भएको छलफलले उद्घाटन सत्रपछि मात्रै निर्वाचन कार्यक्रम अघि बढाउने निर्णय गरेपछि निर्वाचन समितिले त्यहीअनुसार नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

जसअनुसार प्रदेश कार्यसमितिको निर्वाचन कार्यक्रमअनुसार मंसिर १६ गते विहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने, १७ गते ८ बजेदेखि ११ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने, १ बजेसम्म दाबी विरोध र साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यक्रम छ । मंसिर १८ गते विहान ८ बजेबाट मतदाता हुनेछ।

त्यस्तै, केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मंसिर २४ गते १० बजे अन्तिम नामावली प्रकाशित गर्ने, २५ गते विहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता गर्ने, मंसिर २६ गते विहान ८ बजेदेखि १० बजेसम्म मनोनयन पत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने र जाँचबुझ गर्ने, मंसिर २६ गते १२ बजेसम्म दाबीविरोध उपर निर्णय गर्ने कार्यतालिका छ।

त्यस्तै, मंसिर २६ गते दिउँसो १२ बजेदेखि ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रमअनुसार नामावली प्रकाशित गर्ने, ४ बजेसम्म मनोनयन फिर्ता लिने र बेलुकी ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम सार्वजनिक भएको छ।

मंसिर २७ गते बिहान ८ बजेबाट केन्द्रीय कार्यसमितिका लागि मतदान हुनेछ।

प्रदेश महाधिवेशनको उद्घाटन कार्यक्रम मंसिर १६ गते नै हुनेछ। त्यस्तै, केन्द्रीय महाधिवेशनको उद्घाटन पनि मं‌सिर २४ गते नै हुनेछ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलवार १०:४९