काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वलाई कोरोना भाइरस (कोभिड–१९)को ओमिक्रोन भेरियन्टको जोखिम उच्च रहेको बताएको छ । समाचार एजेन्सी एएफपीका अनुसार डब्ल्यूएचओले भेरियन्टको फैलिने क्षमता र खतराको गम्भीरताबारे अझै पनि अनिश्चितता जारी रहेको बताएको छ ।
डब्ल्यूएचओले एक नोटमा भनेको छ, ‘यदि ओमिक्रोन भेरियन्टको कारण कोभिड–१९ को संक्रमण बढ्यो भने यसको नतिजा गम्भीर हुनसक्छ ।’ यद्यपि ओमिक्रोन भेरियन्टबाट अहिलेसम्म कसैको मृत्यु भएको पुष्टि भने भएको छैन । यसअघि गत शुक्रबार डब्ल्यूएचओले यसलाई भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको थियो ।
डब्ल्यूएचओका अनुसार यो भेरियन्ट निकै तीव्र गतिमा म्युटेट भइसकेको बताएको छ । डब्ल्यूएचओले यो भेरियन्टबारे चेतावनी जारी गरेसँगै शुक्रबारदेखि धेरै मुलुकले अफ्रिकाको दक्षिणी क्षेत्रका मुलुकसँगको अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेका छन् । यससँगै शेयर बजार र तेलको भाउमा पनि कमी आएको थियो ।
।