काठमाडौं । भोलिबाट सुरु हुने राप्रपाको केन्द्रीय महाधिवेशनमा राजेन्द्र लिङ्देन र धवलशमशेर राणा गठबन्धनले अध्यक्ष कलम थापाविरुद्ध कडा टक्कर दिने भएको छ । राजेन्द्र–धवल गठबन्धनकै कारण कमल थापा कमजोर बन्दै गएको राप्रपाकै नेताहरु बताउँछन् ।
राप्रपाका अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी निकट दोस्रो, तेस्रो तहका नेताहरूले नयाँ पुस्ता अर्थात् राजेन्द्र–धवल गठबन्धनको पक्षमा उभिने निर्णय गरेका छन् । राप्रपालाई जनताले विश्वास र भरोसा गर्ने क्रियाशील पार्टी बनाउनका लागि नयाँ पुस्ताको नेतृत्व अपरिहार्य रहेको निष्कर्षसमेत निकालेका छन् ।
लिङ्देनले महाधिवेशनबाट आफ्नो जीत सुनिश्चित रहेको भन्दै आगामी दिनमा पार्टीभित्र देखिएका पार्टीको परम्परागत गुट अन्त्य गर्ने दाबी गरेका छन् । ‘नयाँ पुस्तामा सर्वसम्मत पार्टी नेतृत्व हस्तान्तरण गर्ने, अन्यथा निर्वाचन प्रक्रियाबाट यो लक्ष्य पूरा गर्ने भेलाको निचोड रह्यो,’ राप्रपाका नेता सगुन सुन्दर लावतीले भने ।
‘दुई अध्यक्षले पार्टी हित र एकताका लागि निर्वाचन नलड्ने निर्णय गर्नुभएको परिप्रेक्ष्यमा अर्का अध्यक्षले पनि अभिभावकको सम्मानित भूमिकामा बस्नु स्वागतयोग्य हुने विषयमा भेलाको गम्भीर ध्यानाकर्षण भयो,’ लावतीले भने । नयाँ पुस्ताको समर्थन गर्दै अर्का अध्यक्ष राजेन्द्र–धवल गठबन्धनको पक्षमै उभिने बताए ।
लोहनीले आसन्न महाधिवेशनबाट पार्टीको जिम्मेवारी नयाँ पुस्तालाई दिन नसके अस्तित्व संकटमा पर्ने बताएका छन् । पार्टीकै अर्का अध्यक्ष पशुपतिशमशेर राणाले पनि यसअघि नै पार्टी हित र एकताका लागि निर्वाचनबाट अलग रहने निर्णय गरिसकेका छन् । राप्रपाका अध्यक्षत्रयमध्ये कमल थापा मात्र निर्वाचन लड्दै छन् ।
‘अध्यक्षद्वय राणा र लोहनीले अभिभावकको भूमिकामा बस्ने निर्णय गरिसक्दा अध्यक्ष थापाले मात्र कनिष्ठ पुस्तासँग सिङ जुधाउनु अशोभनीय हुन्छ,’ कमल थापा निकटकै एक नेताले भने, ‘राणा र लोहनीले उता समर्थन गरिसक्नुभएको छ । अब अध्यक्ष थापाले चुनाव नलड्दा उहाँको सम्मान बढ्छ, पार्टी एकता र विश्वसनीयता अभिवृद्धि हुन्छ ।’
सोमबार मात्रै आफूले अध्यक्षमा उम्मेदवारी दिने थापाले बताएका थिए । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै अध्यक्ष पदका लागि यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका लिङदेन प्रदेशमा पनि बलियो देखिएका छन् । सोही कारण नेता लिङ्देनलाई अध्यक्षको रूपमा अघि सारिएको महामन्त्रीका दावेदार डा.धवलशम्शेर राणा बताउँछन् ।
सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्षमा निर्वाचित भएका छन् भने दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित हुँदा र लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेको छैन । यद्यपि, उनले लिङ्देनलाई समर्थन गर्न सक्ने राप्रपाका एक नेताले बताए ।
लिङ्देन पक्षधरले प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश १ र बाग्मती प्रदेशमा कमल थापा समूहबाट अध्यक्षमा निर्वाचित हुँदा कर्णाली प्रदेशमा पशुपति पक्षधर अध्यक्षमा निर्वाचित भएका हुन् । पछिल्लो समय थापा, जबरा र लोहनीप्रति असन्तुष्ट युवा समूहले लिङ्देनलाई समर्थन जनाएका छन् ।
नयाँ पुस्तालाई पूर्वमन्त्रीहरू दुर्गा श्रेष्ठ, आङ छिरिङ शेर्पा, जगत गौचन, पूर्वमहामन्त्री राजाराम श्रेष्ठ, सभासदद्वय शयन्द्र वान्तवा र बबिना मोक्तान लावती, युवा नेताहरू रवीन्द्रप्रताप शाह, किशोरबहादुर कार्की, दिनेश कार्की, गोपाल दाहाल, प्रवीण थोकर, प्रेम बलायर, मीना सुवेदी र विजकला राईको समर्थन रहेको छ ।
त्यस्तै गोपी ढकाल, राजु लोहनी, प्रेम देसार, यज्ञबहादुर सिंह, कालीबहादुर शाही, मनिराज तामाङ, गोपी शर्मा, लालबहादुर घिसिङ, जिल्ला अध्यक्ष विकास महत, विद्यार्थी नेताहरू धनशुर शाही र एन्टीसंघर्ष राई लगायतका धेरै नेता कार्यकर्ताहरु नयाँ पुस्ता अर्थात् राजेन्द्र–धवल गठबन्धनको पक्षमा रहेका छन् । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदैछ ।
।