सौराहा । नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान जारी छ । मंगलबार बिहान ४ बजेपछि मात्रै मतदान सुरु भएको हो । मंगलबार बिहान सवा ६ बजेसम्म ७२० जनाले मतदान गरेका छन् । निर्वाचन आयोगका अनुसार अब मतदान सकिन करिब ४ घण्टा लाग्नेछ ।
अध्यक्षमा केपी ओली र भीम रावल चुनावमा भिडेका छन् । उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली उठेका छन् । सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याल उम्मेद्वार बनाएका छन् ।
यसैबीच, एमालेको नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेद्वारी दिएका केपी शर्मा ओली र भीम रावलले मतदान गरेका छन् । १० औँ महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिएका दुवै जनाले विद्युतीय प्रणालीमार्फत मतदान गरेका हुन् । सहमतिका लागि थुप्रै प्रयास भएपनि रावलले उम्मेद्वारी फिर्ता नलिएपछि अन्ततः वर्तमान अध्यक्ष ओली र रावलबीच एमालेको नयाँ अध्यक्षका लागि चुनाव भएको हो ।
अध्यक्षसँगै उपाध्यक्ष, सचिव र खुला सदस्य लगायत पदमा पनि मतदान भइरहेको छ । सौराहामा तोकिएको समयभन्दा दुई घण्टा ढिलो सुरु भएको मतदानमा ओली र रावल पनि सहभागि भएका हुन् । ओलीले पहिले मतदान गरेका थिए भने रावलले ओलीपछि मतदान गरेका थिए । मतदान प्रक्रिया सहज भएको पनि ओली र रावलले पत्रकारलाई प्रतिक्रिया दिएका छन् ।
।