सूचनाको शक्ति - The Power Of Information

        

समाचार

हिमालपारिको गाउँ लिमीमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी

बाँकी खाद्यान्न आज मङ्गलबार ढुवानी गरिने

हुम्ला । खाद्यान्न समस्या भोग्दै आएको हिमालपारिको गाउँ लिमीका लागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी भएको छ ।

आइतबार बेलुका काठमाडौँबाट आएको नेपाली सेनाको हेलिकप्टरले सदरमुकाम सिमकोट र हिल्साबाट लिमीका लागि खाद्यान्न ओसारेको छ ।

सिमकोट विमानस्थलमा सांसद रङ्गमती शाहीले खाद्यान्न समस्या देखिएको नाम्खा गाउँपालिका–६, लिमीका लागि राज्यका तर्फबाट खाद्यान्न पुर्याउने काम सुरु भएको बताइन् ।

उनले निकै प्रयास गरे पनि लिमीमा देखिएको खाद्यान्न समस्या समाधान गर्न हेलिकप्टरको व्यवस्था भएपछि लिमीमा खाद्यान्न पुर्याउन सकिएको जनाइन् । उनी पनि खाद्यान्नसँगै लिमी पुगेकी छन् ।

सेनाको एमआई १७ हेलिकप्टरले खाद्यान्न ढुवानी गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सिमकोटमा रहेको ३४ क्विन्टलमध्ये २१ क्विन्टल खाद्यान्न हेलिकप्टरले लिमीका लागि ढुवानी गरेको जनाए ।

उच्च क्षेत्र भएका कारण एउटा उडानमा हेलिकप्टरले ११ क्विन्टल खाद्यान्न मात्र ढुवानी गरेको थियो । उनले हिल्सामा रहेको ४६० क्विन्टल मैदा तथा २० बोरा चामलमा चारवटा उडान भरेर पुर्याएको जानकारी दिए ।

सोमबार दिनभरि सिमकोट र हिल्साको खाद्यान्न ढुवानी भएको छ । उनले त्यसपछि सोमबार बेलुका हेलिकप्टर सिमकोटमै बस्ने र बाँकी खाद्यान्न आज मङ्गलबार ढुवानी गर्ने बताए ।

खाद्यान्नसँगै सांसद शाही र लिमीका वडाध्यक्ष पाल्जोर तामाङ पनि लिमी पुगेका हुन् । वडाध्यक्ष तामाङले सिमकोट र हिल्साको खाद्यान्न हेलिकप्टरबाट लिमी ढुवानी भएपछि तीन गाउँको निर्णयअनुसार वितरण गरिने जानकारी दिए । खाद्यान्न लिमी पुगेपछि उनले अब खाद्यान्न समस्या समाधान हुने बताए ।

खाद्यान्न समस्या हुने देखिएपछि हिउँ छिचोल्दै लिमीबाट २७ सदस्यीय टोली सिमकोट आएको थियो । लिमीको टोली चार हजार ६०० मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेक पार गरेर आएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलवार ०७:३५