सूचनाको शक्ति - The Power Of Information

        

हुम्लाकाे लिमीमा आज खाद्यान्न पुग्ने

हुम्ला । भोकमरीको अवस्थामा रहेको हुम्लाको लिमी क्षेत्रमा आज खाद्यान्न पुग्ने भएको छ । त्यसका लागि हिजै सेनाको हेलिकप्टर हुम्ला सदरमुकाम सिमकोट पुगेको छ ।

हेलिकप्टरले सिमकोटमा रहेको ३५ क्विन्टल चामल लिमी क्षेत्रमा पुर्याउने छ । यस्तै, हिल्सामा रहेको चार सय ६१ क्विन्टल पिठो र पाँच क्विन्टल चामल पनि लिमी पुर्याउने तयारी छ ।

त्यसपछि लिमीमा रहेका १ सय ४७ परिवारलाई खाद्यान्न वितरण  गरिने हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

उहाँकाअनुसार यो खाद्यान्नले लिमीका स्थानीय बासिन्दालाई सात/आठ महिना खान पुग्छ । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार आज बिहानै लिमी हुँदै हिल्सा पुग्ने हेलिकप्टरले आफूलाई चाहिने तेलसमेत बोकेर जानेछ ।

हिल्सा–लिमी क्षेत्रमा खाद्यान्न ढुवानी गर्दा तेल सकिए पुनः सिमकोट आएर भर्नेछ ।

लिमीमा खाद्यान्न सकिएर भोकमरी सुरु हुन थाले पछि नाम्खा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष पाल्जोर तामाङ काठमाण्डौ आएर सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

 चीनसँग जोडिएको हुम्लाको अत्यन्तै विकट नाम्खा गाउँपालिकामा आलु र उवा मात्रै उत्पादन हुन्छ । त्यसबाट त्यहाँका स्थानीय बासिन्दालाई मुस्किलले दुई/तीन महिना मात्रै खान पुग्छ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार ०९:११