सूचनाको शक्ति - The Power Of Information

        

एमाले महाधिवेशनः तयार भयो अन्तिम सूची, बन्द सत्र साँझ ७ बजेदेखि शुरू हुने

चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उनले यस्तो बताएका हुन् । उनले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने पनि बताएका छन् ।

अध्यक्ष ओलीले बोलाएपछि नेता बाँस्कोटा र सचेतक विशाल भट्टराई होटेलमा आएका थिए । उनीहरू अध्यक्ष ओलीलाई भेटेर बन्द सत्र स्थल फर्किएका छन् ।

स्रोतका अनुसार नयाँ केन्द्रीय समितिका लागि प्रारम्भिक सूची तयार भएको छ । होटल सफारीमा उपमहासचिव विष्णु पौडेलले सूची प्रिन्ट गरेर लगेका थिए । बन्द सत्र भने अझै सुरू भएको छैन ।

होटेल सेभेन स्टारमा बन्दसत्र स्थल भए पनि अध्यक्ष ओली र उनको कोर टिम भने होटेल सफारीमा होमवर्क गरिरहेको छ । ओलीसहित नेताहरू विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाललगायतका नेताहरू होटेल सफारी पार्कमै छन् । यही टिमले सूची तयार पारेको हो ।

उक्त सूचीलाई ओलीले रुजु गरिरहेका छन् । बन्द सत्र शुरू भएपछि उक्त सूची पेश गर्ने र पारित गराउने कार्यसूची रहेको छ । अध्यक्षमा दावी गरिहेका भीम रावल र उपाध्यक्षमा दावी गरेका घनश्याम भूसाललाई पेलेरै अघि बढ्ने रणनीतिमा एमाले अध्यक्ष ओली रहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतवार १८:०५