सूचनाको शक्ति - The Power Of Information

        

नयाँ सहर घोषणाको एक दशक

चौरजहारीमा धमाधम निर्माण, राकम कर्णालीमा सुस्त

सुर्खेत । आर्थिक वर्ष २०६८/०६९ मा सरकारद्वारा घोषित १० वटा नयाँ सहरमध्ये कर्णाली प्रदेशमा दुईवटा निर्माण भइरहेका छन् । दैलेखको राकम कर्णाली र रुकुम पश्चिमको चौरजहारीलाई नयाँ सहर घोषणा गरिएको भए पनि नयाँ सहर घोषणाको एक दशक पुग्नै लाग्दा विकासको गति सुस्त भएको देखिएको हो ।

तत्कालीन सरकारले मध्यपहाडी पुप्ष्लाल लोकमार्गसँग जोडिएका १० वटा बजारलाई नयाँ सहर निर्माण गर्ने घोषणा गरेको थियो । दैलेखको आठबीस नगरपालिकामा पर्ने राकम कर्णालीमा नयाँ सहर निर्माण गर्ने भनी घोषणा भएको एक दशक पूरा हुँदा पनि पूर्वाधार विकासका कामले गति लिन सकेका छैनन् ।

दुई वर्षदेखि ‘ल्यान्डपुलिङ’ विधिमार्फत काम अगाडि बढाउने तयारी गरिए पनि त्यो कामले पूर्णता पाएको छैन । ल्यान्डपुलिङ गर्न स्थानीय बासिन्दाले विरोध गरेका कारण नयाँ सहर आयोजनाले गति लिन नसकेको बताइएको छ । तर, समय घर्किंदै गएपछि भने स्थानीय बासिन्दासँग आयोजनाको सहमति भएको थियो ।

राकम कर्णाली नयाँ सहर आयोजनाका प्रमुख इन्जिनियर सुशील रसाइलीले ल्यान्डपुलिङको कुरा मिलेपछि कामको जिम्मा लिएका विभिन्न कन्सल्टेन्सीले ल्यान्डपुलिङको काम सम्पन्न भएका प्रतिवेदन बुझाइसकेको बताए । उनले ल्यान्डपुलिङको काम सकिए पनि फिल्डमा गएर जग्गाको कित्ताकाटको काम नभएको जानकारी दिए ।

उनले भने, ‘फिल्डमा गएर कित्ताकाट गर्न दुल्लुमा रहेको मालपोत कार्यालयसँग समन्वय गरिरहेका छौँ ।’ स्थानीयवासीको जग्गामा विभिन्न पूर्वाधार निर्माण गर्ने र सडक कालोपत्रे, अस्पताल निर्माण गर्ने भनिए पनि अहिलेसम्म सडक ग्राभेलको काम, सामुदायिक भवन, सामुदायिक प्रतीक्षालय लगायतका काम सम्पन्न भई स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारीमा रहेको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख रसाइलीले यो वर्ष राकम कर्णालीको शून्य बिन्दुबाट नगरपालिकाको भवनसम्म पुग्नका लागि सडक कालोपत्रेको टेन्डर आह्वान गर्न लागिएको बताए । त्योबाहेक कार्यालयको दोस्रो तला ढलानको टेन्डर लगायतका विभिन्न काम पनि भइरहेको आयोजना प्रमुख रसाइलीको भनाइ छ ।

आठबीस नगरपालिका–४ का वडाध्यक्ष रणबहादुर माझीले दुई वर्षअघि पूर्वाधार निर्माण गर्ने र पूर्वाधारमा लागेको जग्गाबाहेक अन्य लागत कटौती गरेर स्थानीय बासिन्दालाई नै फिर्ता गर्ने सबैको सहमति भएपछि काम सुरु गरिएको बताए । तर, उक्त सहमतिपछि आयोजनाले आफ्नै विविध कारण र कर्मचारी अभाव देखाउँदै नयाँ सहरको कामले गति लिन नसकेको वडाध्यक्ष माझीले जानकारी दिए ।

यस्तै सोही स्थानका बासिन्दा अर्जुन शाहीले आयोजनाले कहिले मुआब्जा विवाद कहिले अन्य बहाना बनाएर यो क्षेत्रको विकासमा ढिलासुस्ती गरेको आरोप लगाए । उनले नयाँ सहर घोषणाको दशक नाघिसक्दा पनि देखिने संरचना नभएको बताए । आठबीस नगरपालिकाका प्रमुख खड्कराज उपाध्यायले सहरी विकासका लागि १३७ रोपनी जग्गा सरकारले उचित मुआब्जा दिई नयाँ सहरको काम तीव्र रूपमा सुरु गर्न समन्वय भइरहेको बताए ।

जग्गा अधिग्रहण सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतको प्रतिवेदनका आधारमा जग्गा प्राप्ति ऐनविपरीत मुआब्जा वितरण गरेको भन्दै स्थानीय बासिन्दाले लामो समयदेखि विरोध गरे पनि अब त्यो अवस्था नरहेको उनको भनाइ छ । यसैगरी रुकुम पश्चिमको चौरजहारी नयाँ सहरको पूर्वाधार निर्माणको काम भने जारी छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाको चौरजहारीमा नयाँ सहर आयोजनामार्फत सडक, भवन, बसपार्क, सेवा केन्द्रलगायतका संरचना धमाधम बन्ने क्रममा छन् । आयोजना प्रमुख धीर फडेराले आयोजना कार्यालयले साविक कोटजहारी र विजयश्वरीको क्षेत्रमा एकीकृत विकास योजना तयार गरी सहरी आधारभूत निर्माण काम अगाडि बढाइरहेको बताए । यसमा चौरजहारीको मुख्य सडक ७.२ किलोमिटर कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

त्यस्तै कार्यालयका खरिदार खिमबहादुर चन्दले चौरजहारी चक्रपथ निर्माणको केही काम पूरा भएको र बाँकी भागमा डीपीआर गरी पुनः ठेक्का गर्ने प्रक्रिया सुरु भएको बताए । आयोजनाअन्तर्गत चौरजहारी नगरपालिका–२ मा करिब एक करोड रुपियाँको लागतमा कृषि उपज सङ्कलन केन्द्र निर्माण भइरहेको छ । चौरजहारी बसपार्क निर्माण पहिलो चरणको काम सम्पन्न भई कालोपत्रेका लागि दोस्रो चरणको ठेक्का प्रक्रिया अगाडि बढाइएको छ ।

करिब १० करोडको लागतमा एकीकृत सेवा केन्द्र निर्माण चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी काम भइरहेको कार्यालय प्रमुख फडेराले जानकारी दिए । यस्तै वडा नंं.१, २ र ४ मा सामुदायिक भवन निर्माणको काम सम्पन्न भइसकेको छ । जग्गा विकास कार्यक्रम ब्लक प्लान मन्त्रिपरिषद्बाट स्वीकृत गराई यस आर्थिक वर्षमा सम्पन्न गरिने बताइएको छ । नगरमा सौर्य बत्ती जडान सम्पन्न गरिएको छ भने चालू आर्थिक वर्षमा समेत थप कार्यक्रम रहेको कार्यालयले जनाएको छ ।

आयोजनाले विजयश्वरी–मनकोट–अमलाटाकुरा सडक, विजयश्वरी–मेलैनाउली–खहरे सडक, मेलेनाउली, डाँडे अम्रराई–कोटजहारी सडक, स्यालखोला–अम्बाचौर सडक र लामिछाने गाउँदेखि बसपार्क सडक स्तरोन्नतिको कामसमेत सम्पन्न गरिएको छ । बजेट अभावले गर्दा चौरजहारी सभाहल तथा रङ्गशालाजस्ता ठूला महत्वपूर्ण योजना अगाडि बढाउन नसकिएको र यस आर्थिक वर्षमा प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी अगाडि बढाउन पहल भइरहेको आयोजनाका कार्यालय प्रमुख फडेराले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतवार ०७:५७