सूचनाको शक्ति - The Power Of Information

        

समाचार

हिमाली क्षेत्रमा सडक पुगेपछि सस्तियो सामान, घट्यो खर्च

हुम्ला । दक्षिणी हुम्लामा सडक जोडिएसँगै दैनिक उपभोग्य सामानको मूल्य सस्तो भएको छ । जिल्लाको दक्षिणी क्षेत्र राष्ट्रिय सडक सञ्जालसँग जोडिँदा सामग्रीको मूल्य सस्तिएको हो ।

ताँजाकोट गाउँपालिका–२ का धर्मराज जैसीले अहिले आफ्नो गाउँमा सडक सञ्जाल पुगेपछि सामानको मूल्य सस्तो भएको बताए । केही अगाडिसम्म २५० रुपैयाँ पर्ने एक लिटर तेलको मूल्य अहिले १८० रुैपयाँमा पाइन थालेपछि उनले फाइदा महसुस गरेका छन् ।

आफ्नो गाउँपालिका कर्णाली करिडोरसँग जोडिएपछि जनतालाई सहज भएको उनको भनाइ छ । यसरी सामग्रीको मूल्य सस्तिएपछि विकास भनेकै सडक सञ्जाल भएको महसुस गर्न पाएको जैसीले बताए ।

जैसीले अब वडा–वडामा सडक सञ्जाल जोड्न आवश्यक रहेको सुझाव दिए । सडक जोडिएपछि उहाँको गाउँपालिका मात्र नभएर अदानचुली, चङ्खेली र सर्केगार्डमा समेत सामानको मूल्य सस्तो पर्न थालेको छ ।

ढुवानी दर घट्यो

सडक सञ्जाल नजोडिँदा बाजुराको कोल्टी हुँदै खच्चडमा आउने सामानको ढुवानी दर प्रतिकेजी ६० देखि ७० रुपैयाँ पर्ने गथ्र्यो तर अहिले प्रतिकेजी १० रुपैयाँमा सामान आउन थालेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताए ।

पहिले खच्चडमा सामान ढुवानी हुँदा जथाभावी ढुवानी दर तिर्नुपथ्र्यो भने अहिले उक्त दर निर्धारण गरिएको हो । उनले अझ वडा–वडाका बस्तीमा गाडी गुड्न थालेपछि यो फरकपनको अनुभूति सबैतिर हुन थालेको बताए ।

विकासे लागत अनुमान घट्यो व्यक्तिगत वा सरकारी विकासे काममा समेत सडक सञ्जाल पुगेपछि लागत अनुमान घटेको छ । सर्केगार्ड गाउँपालिका उपाध्यक्ष जोशी धामीले चर्को ढुवानी भाडा तिर्नुपर्ने बाध्यता हटेपछि विकास कार्यमा लागत घटेको बताइन् ।

उनले आठ हजार मूल्य पर्ने सिमेन्ट अहिले १४ सयमा झरेको बताइन् । त्यसैगरी जस्तापाता, फलाम, छड, ग्याबिनको मूल्य पनि घटेको छ । उनले सामग्रीको मूल्य घटेपछि विकासले पनि फड्को मार्ने विश्वास व्यक्त गरिन् ।

ढुवानी नै बढी लाग्ने हिमाली क्षेत्रका सडक यातायात नजोडिएका बस्तीमा अब सडक पुगेपछि ४० प्रतिशत लागत कम लाग्ने अनुमान गाउँपालिकाले गरेका छन् । बिरामी हुँदा सहज गाउँमा पहिले बिरामी हुँदा हुम्लाबाट बाजुराको कोल्टी विमानस्थल हुँदै हवाईजहाजमा नेपालगन्ज वा सुर्खेत पुग्न दुईदेखि तीन दिन लाग्ने गथ्र्यो ।

त्यो पनि बाजुराको कोल्टीमा टिकट पाएपछि मात्र सम्भव थियो । सदरमुकाम सिमकोट पुग्न चार दिन पैदल यात्रा गर्नुपर्ने अवस्था थियो । त्यसैले कतिपय बिरामीले उपचारको अभावमा मृत्युको मुखमा जानुपर्ने हुन्थ्यो ।

उपचारका लागि स्टे«चर वा मानिसले बोकेर लैजानुपर्ने अवस्था थियो तर अहिले अवस्था त्यो नरहेको सर्केगार्ड–५ का वडाध्यक्ष कर्णजङ्ग शाहीले बताए । उनले सडक सञ्जाल जोडिएसँगै बिरामीलाई गाडीमै लैजाँदा पनि एक दिनमै सुर्खेत वा नेपालगन्ज पु¥याउन सकिने भएको जनाए । त्यस्तै परे काठमाडौँसमेत पुर्याउन सकिने अवस्था छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतवार ०७:४९