सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट, नेपाल पनि उच्च जोखिममा

काठमाडौं । दक्षिण अफ्रिकामा हालै भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘बी.१.१.५२९’ बढी जोखिमपूर्ण भएको वैज्ञानिकहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन बैठक बोलाएको छ भने बेलायतले ६ वटा अफ्रिकी मुलुकबाट हुने हवाई उडान अस्थायी रुपमा बन्द गरेको छ ।

के हो नयाँ भेरियन्ट ?

दक्षिण अफ्रिकामा फेला परेको नयाँ भेरियन्ट ‘बी.१.१.५२९’ बाट २२ जना संक्रमित भएका छन् । नयाँ भेरियन्ट हङकङ र बोत्स्वानामा समेत फेला परेको छ । इजरायलमा मलाबीबाट आएका एक यात्रुमा समेत नयाँ भेरियन्ट पुष्टि भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्टमा पटक–पटक एउटै प्रकारको म्युटेसन हुने ‘मात्रा अस्वभाविक’ देखिएको छ । म्युटेसनको ‘अस्वभाविक मात्रा’का कारण नयाँ भेरियन्टले शरीरको रोगप्रतिरोधी क्षमता छल्न सक्ने र थप संक्रामक बन्न सक्ने चिन्ता वैज्ञानिकहरुको छ ।

केही दिनभित्रै नयाँ भेरियन्ट कति संक्रामक र गम्भीर छ भनेर पत्ता लाग्ने वैज्ञानिकहरुले बताएका छन् । नेटवर्क फर जिनोमिक सर्भिलेन्सका टुलियो डी ओलिभियराले म्युटेसनको क्षमता निकै उच्च रहेकाले कारण पुनः संक्रमण देखिएको बताएका छन् । दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट भेटिएपछि डब्ल्यूएचओले आपतकालीन बैठक बोलाएको छ ।

शुक्रबार विशेष आपतकालीन बैठक बस्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायतले दक्षिण अफ्रिका, नामिबिया, बोत्स्वाना, जिम्बाब्बे, लेसोथो र इस्वाटिनी गरी ६ वटा अफ्रिकी मुलुकबाट हुने हवाई उडान अस्थायी रुपमा बन्द गरेको छ । युरोपेली आयोगले समेत दक्षिण अफ्रिकी क्षेत्रबाट हुने सबै उडानमाथि रोक लगाउने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले ट्विटरमार्फत् आफूहरूले आपतकालीन कदम चाल्नसक्ने बताइन् । ‘आयोगले सदस्य राष्ट्रसँगको समन्वयमा चिन्ताको विषय बनेको बी.१.१.५२९ भेरियन्टका कारण दक्षिण अफ्रिकी क्षेत्रबाट हुने हवाई यात्रा रोक्नेसम्बन्धी प्रस्ताव पेश गर्नेछ’, उर्सुलाले भनिन् । सिंगापुरले ७ अफ्रिकी मुलुकबाट हुने यात्रामा शनिबारदेखि ४ हप्तासम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

नेपालसँग सीमा जोडिएको छिमेकी मुलुक भारतले पनि बोत्स्वाना, दक्षित अफ्रिका र हङकङबाट वा ती मुलुक हुँदै आउने यात्रुलाई स्क्रिनिङ र परीक्षण गर्ने निर्णय गरिसकेको छ । चीनको शंघाईमा तीन जनामा संक्रमण देखिएपछि सयौं उडान रद्द गर्नुका साथै केही विद्यालय बन्द गरिएको छ । यद्यपि यो कुन भेरियन्ट भन्ने खुलेको छैन ।

नेपालमा के छ जोखिम ?

जनस्वास्थ्यविदहरुले नेपालमा पनि नयाँ भेरियन्ट भित्रिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । कोरोना महामारीको दोस्रो लहर मत्थर हुँदै गएपछि सरकारले विभिन्न मुलुकसँग नेपालको सिधा हवाई उडान खुला गरिसकेको छ । हवाई उडानमार्फत आउने नागरिकले नयाँ भेरियन्ट नेपाल भित्र्याउने जोखिम उच्च रहेको उनीहरु बताउँछन् ।

भारतसँगको खुला सीमा, विभिन्न मुलुकसँगको सिधा हवाई सम्पर्कका कारण नयाँ भेरियन्ट नेपाल भित्रिन सक्ने तर्क उनीहरुको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट अन्य मुलुकहरुमा पनि देखिन थालेकाले नेपाल सतर्क हुनुपर्ने बताउँछन् ।

‘अहिले विभिन्न मुलुकसँग सिधा हवाई सम्पर्क सुचारु छ । नयाँ भेरियन्ट भेटिएको मुलुकसँग सिधै हवाई सम्पर्क नभएपनि अन्य मुलुक भएर त्यहाँका नागरिकहरु नेपाल आउन सक्छन्’ भन्छन्, ‘यो नयाँ भेरियन्ट नेपाल भित्रिने उच्च जोखिम चाहिँ छ ।’ उनका अनुसार नयाँ भेरियन्ट र नेपालको जोखिमलाई तीन वटा पक्षबाट हेर्नुपर्छ ।

पहिलो – यो नयाँ भेरियन्ट डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको अवस्थामा बढी जोखिम हुनसक्छ । भेरियन्ट बढी संक्रामक हुँदा संक्रमण तीव्र रुपमा फैलाउन सक्दछ, जसले उपचार प्रणालीमा समस्या ल्याउनसक्छ ।

दोस्रो – नयाँ भेरियन्ट बढी घातक छ कि छैन ? वैज्ञानिकहरुले यो नयाँ भेरियन्टबारे अध्ययन गरिरहेका छन् । यदि नयाँ भेरियन्ट बढी घातक भएको अवस्थामा मानवीय जीवनमा ठूलो समस्या ल्याउन सक्छ ।

तेस्रो – यो भेरियन्टले हामीले प्रयोग गरिरहेका खोपलाई छल्ने क्षमताको त विकास गरेको छैन ? नयाँ भेरियन्टमा प्रयोगमा आइरहेको खोपलाई समेत छल्ने क्षमता पाइए अर्को ठूलो समस्या ल्याउने छ ।

नेपालमा दैनिक कोरोना संक्रमित पुष्टि हुने संख्या अझै पनि ३ सयको हाराहारीमा रहेकोले कुन भेरियन्ट सक्रिय छ भनेर पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्न डा. पुन सरकारलाई सुझाव दिन्छन् ।

के छ सरकारी तयारी ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल समेत नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावना रहेको स्वीकार्छन् । यद्यपि सरकारले उच्च सकर्तता अपाउन थालिसकेको उनले बताए । डा.पौडेल भन्छन्, ‘सरकारले निगरानी प्रणालीलाई अलर्ट बनाइसकेको छ । नयाँ भेरियन्ट भेटिएको मुलुकबाट आउनेलाई विमानस्थलमै हेल्थ डेक्स राखेर टेस्ट गर्ने र क्वारेन्टिनमा राख्न निर्देशन दिएका छौं ।’

नयाँ भेरियन्ट भेटिएको मुलुकबाट आएका व्यक्तिमा संक्रमण पुष्टि भए जिन सिक्वेन्सिङ गरिने उनले बताए । ‘नयाँ भेरियन्ट भेटिएका मुलुक दक्षिण अफ्रिका, बोत्स्वाना लगायतका मुलुकसँग नेपालको सिधै हवाई सम्पर्क छैन । अन्य मुलुक भएर आएको पाइएमा विमानस्थलमै उनीहरुको परीक्षण गर्ने र क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएका छौं,’ उनले भने ।

उनका अनुसार नेपालसँग सिधा हवाई सम्बन्ध भएको हङकङमा सर्भिलेन्सको आधारमा नयाँ भेरियन्ट भेटिएको भन्ने छ, केस नै बढेको भने होइन । भारत लगायत सिधै हवाई सम्पर्क हुने मुलुकमा नयाँ भेरियन्ट बढेमा सरकारले नयाँ निर्णय लिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेल बताउँछन् । साथै नेपालमा अहिले कुन भेरियन्ट सक्रिय छ भन्नेबारे पहिचान गर्न जिन सिक्वेन्सिङ भइरहेको भन्दै उनले भने, ‘अर्को साता नतिजा आउनसक्छ ।’

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार १७:२१