सूचनाको शक्ति - The Power Of Information

        

समृद्धिको आवाज

जुम्लाका गाउँमा विद्युत् र सडक स्तरोन्नतीका लागि काठमाडौंमा पञ्चेबाजा

जुम्ला । जुम्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगे पनि सदरमुकाम खलङ्गा बजारका आसपासका गाउँमा मात्र पुगेको छ । अझै यहाँका धेरै गाउँबस्तीमा सहजै विद्युतको प्रसारण लाइन पुग्ने सकेको छैन । देशका राजनीति दलका नेता परिवर्तन भए तर कर्णाली राजमार्गको स्तरोन्नती कहिले भएनन् ।

यी सबै समस्या बोकेर जुम्लाका संघीय सांसद गजेन्द्रबहादुर महतले सरकारसामु दबाबमूलक कार्यक्रम घोषणा गरेका छन् । साविकको कर्णालीबाट हरेक सवालमा राज्य बेखबर भएको भन्दै देशको संघीय सांसदमा उनी निरन्तर कडारुपमा खबरदारी गर्छन् । आक्रोश पोखेर जनताको आवाज बोलिरहन्छन् । तर सांसद महतले यो पटक फरक शैलीको आन्दोलनको स्वरुप लिएर काठमाडौं जाँदैछन् ।

उनी यो पटक सांसदमा बोल्ने छैनन् । उनी स्थानीय पञ्चेबाजा र झाँकी लिएर नेपाल विद्युत प्राधिकरण र सडक विभागको कार्यालयमा प्रदर्शन र मागपत्र लिएर उपस्थित हुँदैछन् । यहीँ मंसिर २१ र २२ गते स्थानीय बाजागाजा सहित झाँकी नाच्दै र्‍याली निकालिने भएकोले काठमाडौंमा रहेका सबै जुम्लाबासीलाई रत्नपार्कमा उपस्थित हुन अपिल गरेका छन् ।

‘अब शान्तिपूर्ण झाँकी र र्‍यालीसहित कर्णालीले आफ्ना माग राख्ने छौं,’ सांसद महतले भने । मंसिर २१ गते नेपाल विद्युत प्राधिकरणको भवन अगाडि झाँकी प्रदर्शन गर्दै माग पत्र पेश गर्ने कार्यतालिका छ । जुम्लामा राष्ट्रिय प्रसारण लाइन जोडिसकेको छ । तर गाउँगाउँसम्म बिजुली पुग्न सकेको छैन । घरघरमा बिजुलीको लाइन विस्तार गर्न, बिजुलीका मिटर, पोल, तार र ट्रान्सफर्मर यथासिघ्र व्यवस्थापन गर्न माग गर्ने सांसद महतले जनाए ।

नेकपा माओवादी केन्द्र जुम्लाका प्रभावशाली र उर्जावान नेताका रुपमा चिनिने महतले भने, ‘शान्तिपूर्ण रुपमा हुने यो आन्दोलनले कर्णालीबासीले भोग्नुपरेको बिजुली समस्या समाधान हुने अपेक्षा गरिएको छ । मंसिर २२ गते सडक विभाग पाटन ढोकाअघि झाँकी प्रदर्शन हुनेछ र मागपत्र पेस हुनेछ ।’ जसमा सुर्खेत जुम्ला कर्णाली राजमार्गका साथै नाग्म, सिँजा हुदै गमगढी जाने सडकको स्तरोन्नतीका लागि यथासिघ्र थालनी गर्न माग गरिने उनले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार ०९:१५