सूचनाको शक्ति - The Power Of Information

        

एमालेको १० औं राष्ट्रिय महाधिवेशन

६ हजार प्रतिनिधिले बनाएको एमालेको विधान अर्थहिन, २ महिनामै संशोधन

१९ जना पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी कमिटी, ९९ जनाको पोलिटब्यूरो र २५/२५ सदस्यीय अनुशासन लेखा र निर्वाचन आयोग रहने व्यवस्था संशोधित गरिएको छ ।

चितवन । दुई महिनाअघि करिव ६ हजार बढी प्रतिनिधि भेला गरेर बनाएको नेकपा एमालेको विधान अर्थहिन बनेको छ । दुई महिनाअघि विधान महाधिवेशन गरेर बनाएको विधान अर्थहिन र काम नलाग्ने बनेपछि मध्यराती बसेको केन्द्रीय कमिटी बैठकले संशोधनसमेत गरेको छ ।

पार्टीमा पदको आकांक्षी बढी भएपछि भाग नपुगेका कारण विधान संशोधन गरेर विधान महाधिवेशनले तोकेको पद संख्यालाई भारी संख्यामा थप गरिएको छ । शुक्रबारबाट चितवनमा सुरु भएको महाधिवेशनको बन्दसत्र सुरु हुनुपूर्व मध्यराती बसेको केन्द्रीय कमिटी बैठकले सांगठनिक संरचना यथावत रहने गरी केही संख्या थप गरिएको छ ।

सौराहस्थित होटल जंगल क्राउनमा बसेको अन्तिम केन्द्रीय समिति बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका पदहरु बढाएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाएका छन् । सर्वसम्मतरुपमा एकताको महाधिवेशन बनाउन विधान संशोधन गरेर संख्या थप गर्नुपरेको एमालेले जनाएको छ ।

केन्दीय कमिटीको निर्णयअनुसार अब एमालेमा केन्द्रीय समिति ३०१ सदस्यीय हुनेछ । त्यसैगरी ९९ सदस्यीय पोलिटब्यूरो गठन हुनेछ । स्थायी कमिटी ४५ सदस्यीयलाई कायम राख्दै पदाधिकारीतर्फ १९ जना बनाइएको छ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव हुनेछन् ।

कुल पदाधिकारी संख्या १९ पुगेको छ । यस्तै सचिवालय १९ सदस्यीय हुने भएको छ । हाल पदाधिकारीमध्यबाट ५ जनाको सचिवालय बनाउने व्यवस्था रहेको थियो । एमालेको विधान महाधिवेशनले अध्यक्ष–१, बरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–४, महासचिव–१, उपमहासचिव–१, सचिव–७ समेत २२५ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरेको थियो ।

आवश्यकता हेर्दा २२५ को संख्याले नपुग्ने भएको, नयाँ अनुहार ल्याउन, पूराना साथीहरुको योग्यता क्षमताअनुसार काम गर्ने अवसर कायम गर्न र नयाँलाई पनि आउने वातावरण बनाउन थप गरेर ३०१ बनाउने निर्णय भएको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख भट्टराईले भने ।

विधान महाधिवेशनबाट पारित विधान हेरफेर गरिएको स्वीकार गर्दै भट्टराईले विधान संशोधन प्रस्ताव बन्द सत्रमा प्रस्तुत गरिने जानकारी दिए । अन्तिम केन्द्रीय समिति बैठकले आयोगहरुको संख्या पदाधिकारीसहित १५ रहेकोमा सो संख्या पनि बढाएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार अनुशासन लेखा र निर्वाचन आयोगको पदाधिकारीसहित अब २५ सदस्यीय हुनेछ । शनिबार (आज) बिहान १० बजेबाट चितवन सौराहास्थित होटल सेभेन स्टारमा बन्द सुरु हुनेछ । बन्दसत्रको पहिलो सेसनमा विदेशी पाहुनाहरुले शुभकामना मन्तब्य राख्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार ०८:२३