सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

घट्दै कोरोना सङ्क्रमण, जोखिम कायमै

बाँके । पछिल्लो समयमा आएर कोरोना सङ्क्रमण निकै घट्दै गएको पाइए पनि जोखिम र खतरा अझै पूर्णरूपमा नटरेको बाँकेका स्वास्थ्यकर्मीले जनाएका छन् ।

चिसो मौसम सुरु भइसकेको र कोरोनाविरुद्धको सावधानीसमेत निकै कम भइसकेकाले अझै पनि रोगबाट हानि हुने जोखिम र खतरा कायमै रहेको भेरी अस्पतालका निवर्तमान प्रमुख डा.प्रकाश थापाले बताए ।

उनले केही दिनयता सङ्क्रमित भेटिने क्रम निकै कम भए पनि युरोपलगायतका विदेशी मुलुकमा फेरि बढिरहेको पाइएको तथा नेपालमै पनि पूर्णरूपमा शून्यमा झरिनसकेकाले अझै सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

पहिलो र दोस्रो चरणको महामारीमा निकै राम्रो स्वास्थ्य व्यवस्थापन गरेका डा.थापाले अझै केही समय निकै सचेत रहनुपर्ने र सावधानी पनि अपनाउनुपर्ने बताए ।

विशेषगरी भीडभाडमा जाँदा वा आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा निकै सचेतना अपनाउनुपर्ने तथा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने कुरामा ध्यान दिनुपर्ने उनले बताए ।

अहिले केही दिनयता आएर बाँकेमा स्वास्थ्य मापदण्डको पालनामा निकै बेवास्ता र लापरबाही गर्ने गरिएको पाइएको छ । निकै कम सर्वसाधारणले मात्र मास्क र सेनिटाइजरको नियमित प्रयोग गरिरहेको देखिएको छ ।

अझै केही समयसम्म स्वास्थ्य मापदण्डको पालनाका लागि विभिन्न सरकारी र गैरसरकारी निकायले समाजमा सचेतना फैलाउनु आवश्यक रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहनिर्देशक डा.रोमन किदवाईले पनि यो मौसम र यसपछि निकै खतरा हुन सक्ने हुँदा बेवास्ता र लापरबाही नगर्न सर्वसाधारणलाई सल्लाह दिएका छन् । उनले घरबाहिर निस्कँदा मास्क र सेनिटाइजर प्रयोग अनिवार्यरूपमा गर्नुपर्नेसमेत बताए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार ०९:४७