चितवन । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा एमालेले जनाएको छ ।
महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् । महाधिवेशनको उद्घाटन दिउँसो १२ बजे नारायणी नदी किनारमा हुनेछ । महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ ।
सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आउने छन् । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् । ‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने भन्ने नारा एमालेले अघि सारेको छ ।
नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ । यसैबीच, महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो ।
एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले बताए ।
‘कोभिडको समय भएकाले सबै प्रतिनिधिको अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गर्छौँ,’ पौडेलले भने, ‘बन्दसत्र हल नजिकै कोरोना परीक्षण गर्ने एन्टिजेन किट तथा अन्य प्रयोगशालासहित फार्मेसी सेवा प्रदान गर्दैछौँ ।’
महाधिवेशनमा भाग लिने प्रतिनिधि रातिको समयमा बिरामी भएको अवस्थामा उनीहरु बसेको होटलमै पुगेर चिकित्सकसहितको स्वास्थ्य प्राविधिक टोलीले उपचार गर्ने पौडेलले बताए । ‘बन्दसत्रस्थल सौराहामा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहितको उद्धार टोली तयारी अवस्थामा रहनेछ,’ पौडेलले भने ।
पौडेलका अनुसार त्यहाँ परिचालन भएको चिकित्सकसहितको टोलीले उपचार गर्नेछ र थप उपचार गर्नुपर्ने भएमा तुरुन्त एम्बुलेन्समा राखेर अस्पताल पुर्याउने व्यवस्था गरिएको छ । बन्दसत्र अवधिमा प्रतिनिधि बस्ने होटल तथा विशिष्ट व्यक्ति बस्ने होटललाई लक्षित गर्दै विशेष एम्बुलेन्ससहितको स्वास्थ्यकर्मी परिचालन गरिएको पौडेलले जानकारी दिए ।
त्यस्तै आज शुक्रबार हुने एमाले महाधिवेशनको उद्घाटन सत्रमा हरेक झाँकीसँगै स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स परिचालन हुने उनले बताए । महाधिवेशनका लागि विशेषज्ञ चिकित्सक, नर्स, पारामेडिक्स, फर्मासिस्टसहित ३०० बढी स्वास्थ्यकर्मी परिचालन गरिएको पौडेलको भनाइ छ ।
त्यस्तै महाधिवेशन उद्घाटनस्थलको छेउमा एउटा र अर्को उद्योग वाणिज्य सङ्घ चितवनको नजिक गरी दुईवटा औषधोपचारस्थल निर्माण गरिएको जनाउँदै पौडेलले नदी किनारमा दुई एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिने बताए । बन्दसत्र भने शनिबार र आइतबार सौराहाको होटल सेभेन स्टारमा हुनेछ ।
।