सूचनाको शक्ति - The Power Of Information

        

भूपेन्द्र बडुवाल हत्या प्रकरणमा नयाँ ‘ट्विस्ट’

मोटरसाइकल बर्दियाबाट बरामद, सिद्धार्थ होटेलमा भेटिए दुई पेस्तोल

फाइल तस्वीर : भूपेन्द्र बडुवाल ।

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हत्या प्रकरणमा अर्को ‘ट्विस्ट’ आएको छ । प्रहरीले भूपेन्द्रको हत्याको समयमा प्रयोग भएका दुई मोटरसाइकल बर्दियाबाट बरामद गरेको छ ।

प्रहरीले बर्दियास्थित रोयर एडभेन्चर रिसोर्टबाट घटनामा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरेको हो । घटनामा दुई मोटरसाइकल र एक स्कुटर प्रयोग भएको प्रहरी अनुसन्धानले देखाएको छ । स्कुटर फेला पर्न बाँकी छ ।

प्रहरीले सो रिसोर्टका सञ्चालक अतिश थापालाई पनि पक्राउ गरेको छ । अतिशले घटनामा संलग्नहरूलाई भाग्न सहयोग गरेको देखिएको एक प्रहरी अधिकारीले बताए । यस्तै, कैलालीको टीकापुरस्थित सिद्धार्थ होटेलबाट प्रहरीले दुई पेस्तोल बरामद गरेको छ ।

बरामद भएको पेस्तोल घटनामा फरार रहेका नवीन रावल समूहको भएको प्रहरी बुझाइ छ । तिहार टीकाको भोलिपल्ट सिद्धार्थ होटेलनजिकै भूपेन्द्रको नवीन रावलको समूहले हत्या गरेको थियो ।

नवीनको समूहले विभिन्न घटनामा पेस्तोल देखाएर तर्साउने गरेको पाइएको र बरामद भएको पेस्तोल उनीहरूकै हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । पेस्तोल होटेलको कोठामा रहेको शौचालयभित्र लुकाएको पाइएको थियो । घटनाबारे प्रहरी अनुसन्धानमा जुटेको छ ।

भूपेन्द्र हत्या अनुसन्धानमा सीआइबी, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीको टोली सक्रिय छ । होटेल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीले दाबी गर्दै आएको छ । नवीन हाल फरार छन् ।

नवीन टीकापुर र लम्की क्षेत्रमा लामो समयदेखि गुन्डागर्दी र विभिन्न अपराधमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । हत्यामा संलग्न आरोपमा १६ जनाविरुद्ध किटानी जाहेरी छ । प्रारम्भिक अनुसन्धानमा भूपेन्द्रमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरेको देखिएको छ ।

प्रारम्भिक अनुसन्धानमा भूपेन्द्रबाट आफूहरूको सूचना चुहिने डरले नवीनको समूहले उनको हत्या योजना बनाएको हुन सक्ने प्रहरी आशंका छ । काठमाडौंमा बस्दै आएका बडुवाल दसैँ मान्न घर फर्किएका थिए । तिहारपछि उनी काठमाडौं फर्किने योजनामा रहेकै बेला उनको हत्या भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार ११:४०