सूचनाको शक्ति - The Power Of Information

        

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन

चितवनको सुरक्षा व्यवस्थापन प्रहरीका एआइजी र डीआइजीको कमाण्डमा

एमाले अध्यक्ष केपी शर्मा ओली केहीबेरमा चितवन आइपुग्दै ।

चितवन । एमालेको चितवनमा भोलिदेखि हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनको सुरक्षा व्यवस्थापन तथा कमाण्डका लागि केन्द्रबाट नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायब महानिरीक्षक पनि आउने भएका छन् ।

महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने भएकाले एक जना एआइजी र दुई जना डीआइजी चितवन आउन लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एआइजी सहकुल थापा, डीआइजी प्रकाशजंग कार्की र दिवेश लोहनी आज साँझसम्म चितवन आइपुग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार एमालेको महाधिवेशनको लागि प्रतिनिधिहरु चितवन आउने क्रम पनि सुरु भएको छ ।

महाधिवेशन सुरक्षाका लागि चितवनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अनुसन्धान विभागका गरी १ हजार ४५५ जनाभन्दा बढी सुरक्षाकर्मी खटिँदैछन् । पार्टीको दशौँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अहिले केहीबेरमा चितवन आइपुग्दै छन् ।

बिहान ११ः ३० बजे बुद्ध एयरको बिमानबाट ओली चितवन आउने एमाले केन्द्रिय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । यसअघि उनी महाधिवेशन स्थल निरीक्षण गर्न गाडी चढेर त्यहाँ पुगेका थिए । एमालेको १० औँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

‘अध्यक्ष कमरेड आज बिहान ११ः३० मा बुद्ध एयरबाट चितवन आउनुहुन्छ, १ बजे महाधिवेशनसँग सम्बन्धित एउटा बैठकमा सहभागी हुने कार्यक्रम छ,’ तामाङले भने, ‘त्यसपछि महाधिवेशन उदघाटन हुने मञ्च निरीक्षण गरेर सौराहा जानुहुनेछ ।’ सौराहा र भरतपुरमा अहिले एमालेका धेरै नेताहरू बसिरहेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार ११:१८