सूचनाको शक्ति - The Power Of Information

        

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन

भीम रावलसँग कायमै होला नवौं महाधिवेशनको शक्ति ?

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रूपमा पुनः अध्यक्ष बन्ने अध्यक्ष केपी शर्मा ओलीको योजनालाई चुनौती दिँदै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष डा. भीम रावल गृहप्रदेश सुदूरपश्चिममै कमजोर देखिएका छन् ।

यसअघि सुदूरपश्चिममा बलियो पकड भएका नेता रावल एमाले विभाजनपछि आफ्नो ठूलो शक्ति गुमाउँदै एक्लिँदै गएका हुन् । नयाँ नेतृत्व चयनका लागि यही मंसिर १०–१२ गतेसम्म चितवनमा एमालेको महाधिवेशन हुँदैछ । जसमा अध्यक्ष पदमा उठ्ने घोषणा गरेका रावल नवौं महाधिवेशनमा जस्तो मत ल्याउने अवस्थामा नरहेको नेताहरु बताउँछन् ।

‘नवौँ महाधिवेशनमा अत्यधिक मत ल्याउनुभएको थियो । तर यसपटक त्यस्तो अवस्था छैन । पार्टीमा आएको फुटले उहाँ (रावल)को शक्ति एकदमै कमजोर भएको देखिन्छ,’ एमालेका एक नेताले भने, ‘उहाँमा नवौँ महाधिवेशनको साख बचाउने चुनौतीसमेत छ ।’ सुदूरपश्चिम प्रदेशको एमाले संगठनभित्र रावलको बलियो पकड थियो ।

रावलको ‘गढ’ नै मानिन्थ्यो सुदूरपश्चिम । तर, एमाले फुटले रावलको शक्ति अक्षुण रहन सकेन । यसबीचमा रावलले निकै विश्वासपात्रको साथ त गुमाएका छन् नै त्यसैमा महाधिवेशन अन्तरगत वडा, पालिका र प्रतिनिधि छनौटमा उनलाई संस्थापन पक्षले चेपुवामा पारेको छ । रावलको गृहप्रदेश सुदूरपश्चिममा अहिले उनी इतर (संस्थापन) पक्षको बाहुल्यता छ ।

इन्चार्ज लेखराज भट्ट र अध्यक्ष कर्ण थापाले रावललाई ‘किनारा’ पार्दै अधिकांश ठाउँमा आफू निकटलाई महाधिवेशन प्रतिनिधि बनाएका छन् । नेकपा एमालेमा अहिले रावल इतर समूह ठूलो छ । सुदूरपश्चिममा रावलविरुद्ध भट्ट र थापाले मोर्चाबन्दी गरेर उनीमाथि हाबी हुँदै गएका एमालेकै नेता कार्यकर्ता बताउँछन् ।

‘पार्टी फुटाएर गएका माधवकुमार नेपाल समूह लागेर भीम कमरेडले अध्यक्षको विरुद्धमा गएको भन्दै त्यसको रिस साँध्न अहिले उहाँलाई एक्ल्याउने प्रयास भइरहेको छ,’ एक नेता भन्छन्, ‘प्रदेश इन्चार्ज र अध्यक्ष उहाँ (रावल) विरुद्ध मोर्चा नै बनाएर लागिरहनुभएको छ, प्रतिनिधि छनौटमा त्यसकै बाछिटा देखिएको हो ।’

संस्थापन पक्षले महाधिवेशन प्रतिनिधि छनोटमा ‘एकलौटी’ गरेको भन्दै कैलाली निर्वाचन क्षेत्र नं.२ मा विवाद चलेको छ । रावल पक्षले कैलाली–२ मा समानान्तर प्रतिनिधि छानेको छ । तर, रावलले छानेका समानान्तर प्रतिनिधिले वैधता नपाउने देखिन्छ । यसले गर्दा उनी झनै कमजोर बन्ने छन् ।

महाधिवेशनका लागि सुदूरपश्चिमबाट १७५ जना प्रतिनिधि छनोट भएका छन् । कञ्चनपुरबाट २० (४ मनोनयनसहित), कैलालीबाट ४४, दार्चुलाबाट १२, बझाङबाट १६, बैतडीबाट १४, डडेल्धुराबाट ११ जना, बाजुरा २१, डोटी १६ र अछामबाट १४ जना छनोट भए । यीमध्ये करिब ३० जना प्रतिनिधिभन्दा बढी रावल निकट नरहेको ती नेताको दाबी छ ।

‘उहाँका विश्वासपात्र नै साथमा छैनन्, त्यसैले छनौट भएका प्रतिनिधिमा पनि उहाँ निकट निकै कम छन्,’ उनले भने । रावल तत्कालीन नेकपा हुँदा केपी शर्मा ओलीविरुद्धको मोर्चाबन्दीमा नेपालको पक्षमा थिए । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकीकरण बदर गर्दै पूर्ववत् अवस्थामा फर्काएपछि पनि उनी ओलीविरुद्ध लागिरहे ।

सुरुवातदेखि नै ओलीका कटु आलोचक थिए, रावल । तर ओली नेतृत्वको सरकार ढलेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिँदा भने उनी माधव नेपालसँग टाढिँदै गए । नेपाल समूहका अधिकांश सांसदले देउवालाई विश्वासको मत दिएकै दिन रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

यद्यपी पछि सो निर्णय उनले फिर्ता लिएका थिए । एमालेमा सिर्जित विवाद समाधान गर्न गठित एकता कार्यदलमा नेपाल समूहको तर्फबाट रावल संयोजक थिए । नेपालका विश्वास पात्र मानिएका उनै रावलले नयाँ पार्टी गठनमा नेपाललाई साथ दिएनन् । १० बुँदे सहमति गर्दै २०७५ जेठ २ पूर्वको अवस्थामा फर्किने निर्णय गरेपछि रावलसहित नेपाल समूहमा सक्रिय १० नेता एमालेमै रहेका थिए ।

राष्ट्रियताका सवालमा खरो र तर्कपूर्ण टिप्पणी गर्ने रावलले ओलीले गरेको संसद विघटनलाई प्रतिगामी भन्दै आएका थिए । तर, पछिल्लो पटक उनै ओलीसँग जोडिन पुगेपछि विगतमा रावललाई साथ दिँदै आएका सुदूरपश्चिमका नेताहरुले समेत उनको साथ छोडेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी गठनमा नेपाललाई साथ नदिएर एमालेमै रहेका रावल १० बुँदे सहमति कार्यान्वयन नभएपछि अहिले असन्तुष्ट छन् ।

सहमति कार्यान्वयन नभएपछि रावल निकट नेकपा एमाले (डडेल्धुरा)का अध्यक्ष डा.तारा जोशी सहित बहुमत जिल्ला कमिटी सदस्य केही दिन अगाडि एकीकृत समाजवादीमा प्रवेश गरे । यस्तै, एमाले केन्द्रीय सदस्य तथा बझाङका नेता भानुभक्त जोशीले पनि एमाले छोडे । गत २४ चैतमा रावलले नै समानान्तर कमिटीको अध्यक्ष बनाएका कैलालीका दीर्घ सोडारी, कञ्चनपुरका तारालामा तामाङ र अछामका शेरबहादुर कुँवर पनि उनको साथमा छैनन् ।

अछाम निर्वाचन क्षेत्र नंं.१ बाट विजयी रावल निर्वाचन क्षेत्रमै एक्लिएका छन् । रावल निकट निर्वाचन क्षेत्र नं.१ का ६ नेताले एमाले छोडेका छन् । राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, प्रदेश सांसद मीना कुमारी साउँद, साँफेबगर नगरपालिकाका इन्चार्ज सिलोज कुँवर, मेयर कुलबहादुर कुँवर, बिर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले भीम रावलको साथ छोडेर एकीकृत समाजवादीमा गएका छन् ।

सुदूरपश्चिम प्रदेश सभाका रावल निकट १७ सांसदमध्ये १३ जनाले उनको साथ छोडेका छन् । अहिले उनको साथमा सभामुखसहित ४ जनामात्रै छन् । यस्तै, सुदूरपश्चिमबाट २५ जना केन्द्रीय सदस्यमध्ये अहिले रावलको साथमा कैलालीका झपट रावल र बाजुराका प्रकाश शाह मात्रै छन् । प्रतिनिधिसभा सदस्यमध्ये कैलालीका रावल र कञ्चनपुरका दीपक प्रकाश भट्ट मात्रै रावलसँग छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १०:५८