बझाङ । बुंगल नगरपालिका–२ सलकाट्टेकी लक्ष्मी पटकीदेवी धामी ८५ वर्ष पुगिन् । उनलाई हिँडडुल गर्न निकै सकस हुन्छ । यसअघि घरमै भत्ता बुझदै आएकी धामीले यसपालि भने बैंकबाटै भत्ता बुझ्ने भएकी छन् । सरकारले बैंकबाट मात्र भत्ता दिने भएपछि गाउँलेले बोकेर उनलाई वडा कार्यालयमा आएको शिविरमा पुर्याए ।
लेखपढ गर्न नजान्ने र राम्ररी आँखा पनि नदेख्ने धामीलाई बैकमार्फत भत्ता बुझ्ने काम झन्झटिलो लागेको छ । उनी भन्छिन्, ‘एक घण्टाको बाटोमा त गाउँका दाजुभाइले बोकेर ल्याए । बैंक पुग्न दुई घण्टा हिँडनुपर्छ सरकारले भक्ता दिएर त राम्रै काम गरेको थियो । तर भत्ता बाँडने काम झन्झटिलो भयो ।’
भौगालिक कठिनाइका कारण उनलाई मात्र नभएर सबै ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले बैंकबाट भत्ता लिनुपर्ने भएपछि निकै सास्ती भएको छ ।’ स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका दुर्गम तथा ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको हो ।
सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ्ग प्रणाली अपनाएका छन् । सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानी लिन बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिले सास्ती भोग्नुपरेको छ ।
बुङ्गल नगरपलिकास्थित लौनेबाट वडा कार्यालयसम्म पुग्न पाँच घण्टा हिँडनुपर्छ । वडा कार्यालयबाट साना सवारी जिप चढेर झण्डै दुई घण्टाको यात्रापछि कृषि विकास बैंकको बुङगल शाखामा पुगिन्छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये साइपाल गाउँपालिकामा हालसम्म कुनै बैंकको शाखा स्थापना भएको छैन ।
बुंगल नगरपालिका–२ सलकाट्टेकी लक्ष्मी पटकीदेवी धामीलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि गाउँलेले बोकेर बैंक लैजाँदै ।
साइपालले तल्कोट गाउँपालिकामा रहेको एभरेष्ट बैंक र सदरमुकाम चैनपुरबाट कारोबार गरिरहेको छ । पहिलेभन्दा अहिले भत्ता लिन धेरै झन्झट बेहोर्नुपरेको सेवाग्राहीको भनाई छ । बैंकसम्म पुग्न दुई दिन लाग्छ । बैंकमा पुगेपछि घण्टौं लाइनमा बस्नुपर्छ । एकातिर समयको पनि खर्च अर्कोतिर सरकारले दिएको भत्ता गाडी भाडा र खाना खर्चमै सकिन्छ ।
भौगोलिक हिसाबले निकै टाढा रहेका जिल्लाका ग्रामीण बस्तीका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता बुझ्न घण्टौं पैदल हिँडेर बजार पुग्नुपरेको धामीको भनाइ छ । बझाङका अधिकांस लाभग्राही अहिले सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि कम्तीमा दुई घण्टादेखि एकसम्म दिन हिँडेर बैंक पुग्ने गरेका छन् ।
बैक पुगे पनि चेकमा लेख्न लगाउनुपर्ने, घण्टौं लाइनमा बस्नुपर्ने, घर फर्कन गाडी कुर्नुपर्ने, बुढेसकालमा घण्टौं हिँडनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । कहिलेकाँही बैकमा इन्टरनेटले काम नगर्दा रित्तै हात फर्कनुपर्दा झन् समस्या हुने गरेको छ । स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता सहजरुपमा वितरण गरिनुपर्ने लाभग्राहीको माग छ ।
बैक खाता अनिवार्य गरेपछि बैंकसम्म पुग्न भौगोलिक कठिनाईले सकस हुने भएपछि बुङ्गल नगरपालिकाले भने कृषि विकास बैंकका कर्मचारीसहित नगरपालिकाले ११ वटै वडामा बैक खाता खोल्न वडा कार्यालयमै पुगेर शिविर सञ्चालन गरेको बुङ्गल नगरपलिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत भरत रोकायाले बताए ।
गाउँ नजिकै बैक नहुने र टाढा–टाढाका बैंकमा खाता खोल्नुपर्ने बाध्यता हुँदा सामाजिक सुरक्षा भत्ता बुझ्ने जिल्लाका सयौं बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक भत्ता बुझ्न बैंक जानुपर्ने बाध्यता छ । यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा गएर सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले बैंकिङ प्रणालीबाट दिन सुरू गरेपछि नागरिकलाई सास्ती भएको छ ।
।