सूचनाको शक्ति - The Power Of Information

        

भाषा विज्ञान सम्मेलन हुँदै, ९ देशको सहभागिता रहने

काठमाडौं । भाषा विज्ञान समाज नेपालले ४२ औं वार्षिक सम्मेलनको आयोजना गरेको छ । समाजको ४२ औं वार्षिक सम्मेलन मङ्सिर १० र ११ गते (नोभेम्बर २६ र २७ तारिख) गर्न लागेको हो । सम्मेलन माइक्रोसफ्ट टिम्स सफ्टवेयरको प्रयोग गरी अनलाइन माध्यमबाट आयोजना गरिने समाजले जनाएको छ ।

समाजले विगत ४० वर्षदेखि हरेक वर्ष नोभेम्बर २६ र २७ मा वार्षिक सम्मेलन गर्दै आएको छ । सम्मेलनमा यस वर्ष ९ देशको सहभागिता रहने र ७२ वटा सम्मेलन पत्रहरू प्रस्तुत हुने भाषा विज्ञान समाज नेपालका अध्यक्ष कृष्णप्रसाद चालिसेले जानकारी दिए ।

यसअघि सम्मेलनमा हरेक वर्ष १० देखि १५ मुलुकका १५० जना जति भाषाविद्हरू सहभागी हुँदै आएको र करिब १०० वटा जति सम्मेलन पत्र प्रस्तुत हुने गरेकोमा कोभिड–१९ महामारीको कारणले यस बर्ष सहभागिता केही घट्ने आयोजकले जनाएको छ ।

सम्मेलन त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा हुन लागेको बताउँदै उनले भने, ‘यस वर्ष भाषाविज्ञानका २१ वटा विभिन्न विधामा ३२ वटा भाषामा अनुसन्धान गरिएका अनुसन्धान पत्रहरू सम्मेलन पत्रका रूपमा प्रस्तुत गरिने र ती अनुसन्धान पत्रहरूमाथि छलफल गरिनेछ ।’

अनुसन्धान पत्रहरूमा भाषाका वर्ण, ध्वनि, रूप, वाक्य र अर्थ व्यवस्थाका साथै भाषाका वक्ताको भाषिक स्थिति, अभिवृत्ति, पारस्परिक प्रभावजस्ता समाज भाषिक र सांस्कृतिक विषय समेटिने पनि भाषा विज्ञान समाज नेपालका अध्यक्ष चालिसेले जानकारी दिए ।

साथै भाषा नीति र योजना, भाषासँग सम्बन्धित पहिचान, विचार, लैङ्गिकता, शक्ति, संस्कृतिजस्ता भाषा संस्कृति र भाषा राजनीतिका विषयका साथै लोपोन्मुख भाषाहरूको संरक्षण, भाषिक शिक्षण र सिकाइ, क्लिनिकल भाषाविज्ञान, कम्प्युटर भाषविज्ञान जस्ता विषयहरू समेटिएको उनको भनाई छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार ०९:४४