काठमाडौं । स्वदेशमा उत्पादित विद्युत् खेर गइरहेको र त्यसका कारण आर्थिक नोक्सानी भइरहेको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् । अर्थमन्त्री, ऊर्जामन्त्रीले समेत ५०० मेगावाटसम्म उत्पादित विद्युत् खेर गइरहेको सार्वजनिक कार्यक्रममै बताउँदै आएका छन् ।
तर, आजको दिनसम्म उत्पादित बिजुली कति खेर गइरहेको छ त ? नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशप्रसाद भट्टराई फरक–फरक समयमा फरक–फरक मात्रामा बिजुली खेर गइरहेको बताउँछन् । उनका अनुसार बिहानको समयमा बिजुली खेर गएको छैन भने भने रातिको समयमा अधिकतम २५० मेगावाटसम्म बिजुली खेर गइरहेको छ ।
‘बिहानीपखको समयमा बिजुली खेर गएको छैन । तर, दिउँसो २० देखि ४० मेगावाट र रातिको समयमा २०० देखि २५० मेगावाटसम्म बिजुली खेर गइरहेको छ,’ उनले भने । तर, कुल उत्पादित बिजुलीमध्ये २० प्रतिशतसम्म खेर गएको बिजुलीलाई प्राविधिक रूपमा खेर गएको भन्न नमिल्ने उनी बताउँछन् ।
समग्र प्रणाली सञ्चालनका लागि कुल उत्पादित विद्युतमध्ये १५ देखि २० प्रतिशत ‘इनर्जी रिजर्भ’ हुनुपर्ने उनले बताए । ‘हाम्रो एक हजार मेगावाटको प्रणाली हो भने न्यूनतम २०० मेगावाट खेर जान्छ । नभए हाम्रो सिस्टम चलेको हुँदैन । त्यो भनेको एक हजार मेगावाट विद्युत् माग छ भने एक हजार २०० मेगावाट विद्युत् हामीसँग हुनुपर्छ,’ उनले भने ।
उनका अनुसार सिस्टम चलाउन १० देखि २० प्रतिशतसम्म रिजर्भ राख्नैपर्छ । त्यसो हो भने हालको अवस्थामा विद्युत् खेर गएको मान्ने कि नमान्ने ? भन्ने जिज्ञासामा प्रवक्ता भट्टराईले भने, ‘प्राविधिक रूपमा विद्युत् खेर गएको मान्न हुँदैन । तर, उत्पादित विद्युत् खेर गएको हो । त्यसले आर्थिक नोक्सानी त हुने नै भयो ।’
।