चितवन । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो ।
एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले आजका लागि तय बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको जानकारी दिए । बिहीबार बेलुका सौराहामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
अब स्थगित बैठक शुक्रबार बेलुका अथवा शनिबार आवश्यकताअनुसार बस्नेछ । उनले भने । नेताहरूबीच भोलि वा पर्सी कहिले बस्ने भन्नेबारे छलफल भइरहेको भए पनि निर्णय भने हुन बाँकी रहेको उनको भनाइ छ ।
मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटी बैठकले सौराहामा बिहीबारका लागि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने तय गरेको थियो ।
सो बैठकबाट बन्दसत्र सञ्चालनका लागि ११ जनाको अध्यक्षमण्डलका साथै महाधिवेशन प्रतिनिधि सङ्ख्या समेत बढाउने निर्णय गरेको थियो ।
आजै केन्द्रीय कमिटी स्थगित भए पनि एमाले अध्यक्ष ओली चितवन आएर विभिन्न आन्तरिक छलफलमा व्यस्त हुने भएका छन् । एमालेको १० औँ महाधिवेशन नारायणी नदी किनारमा शुक्रबार उद्घाटन हुँदैछ ।
त्यसका लागि एमालेले भव्य तयारी गरेको छ भने सो तयारी अन्तिम चरणमा पुगेको मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले बताए ।
।